बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र व्यवस्था रक्षाका लागि सत्ता गठबन्धनका उम्मेवारले जित्नै पर्ने बताएका छन् । सत्ता गठबन्धनका उम्मेद्वारलाई जिताउन पनि उनले सबैलाई आग्रह गरे ।

शुक्रबार बुटवलमा आयोजना गरिएको पाँच दलीय सत्ता गठबन्धनको संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले टिकट नपाएर असन्तुष्ट नेता कार्यकर्तालाई अन्यत्र पनि ठाउँ भएकाले नआत्तिन आग्रह गरे । ‘टिकटको आकांक्षा राख्ने सबैलाई टिकट दिन सकिएको छैन’, उनले भने, ‘अरु पनि धेरै ठाउँ छन्, ती ठाउँमा पनि व्यवस्थापन गर्न सकिन्छ ।’
उनले मुलुक पश्चगमनतिर जान लागेका बेला त्यसलाई बचाएर गठबन्धनका दलहरूले आफूलाई प्रधानमन्त्री बनाएकाले ती दलहरूलाई पनि इमानदारीपूर्वक मत दिनुपर्ने भनाइ राखे । ‘यो निर्वाचन अरुबेला जस्तो सामान्य चुनाव होइन, प्रतिगमनका विरुद्ध अग्रगमनको लडाईं हो’, प्रधानमन्त्री देउवाले भने, ‘संविधान र व्यवस्था रक्षा गर्दै मुलुकको विकास र समृद्धिको दायित्व पाँच दलीय गठबन्धनसँग छ, त्यसमा तपाईंहरूले इमान्दारीपूर्वक गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।’
उनले दुई पटकसम्म संसद् विघटन गरेर प्रतिगमनको यात्रा तय गरेको नेकपा (एमाले) ले त्यस्तै प्रकारका दलहरूसँग गठबन्धन गरेर आफ्नो असली चरित्र देखाएको बताए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्नमात्रै नभएर राष्ट्रको रक्षाको निम्ति सैद्धान्तिक र वैचारिक धरातलमा गठबन्धन गरिएको बताउँदै सबै दलले प्रतिबद्ध भएर गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे ।
‘संविधानको रक्षा, स्थिरता, आर्थिक विकासका लागि यो गठबन्धन हो । हामी आज एकातिर गठबन्धन एउटा बृहत् महान उद्देश्यका निम्ति एक भएको हो भन्ने कुरा तपाईंहरू सबैसित शेयर गर्न आएको हो, अर्को हामी एक छौँ भन्न पनि आएको हो, तपाईंहरूले पनि गहिरोसँग आत्मसात गरिदिनु होला ।’, उनले भने ।
उनले गठबन्धन विजयी हुनैपर्ने बताउँदै विजय भइसकेपछि पनि यो देशमा प्रतिगमन, प्रतिक्रान्ति र निरङ्कुशताको खतरा रहिराख्ने भएकाले अग्रगामी लोकतान्त्रिक शक्तिहरूको मोर्चा आवश्यक रहेको भनाइ राखे । उनले त्यसको तयारी अहिलेदेखि नै गर्नुपर्ने भएकाले सम्पूर्ण तागतसहित लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले क्षतविक्षत भइसकेको संविधान र मासिइसकेको गणतन्त्रलाई आफूहरूले बचाएको उल्लेख गर्दै संविधान र गणतन्त्रको रक्षा तथा विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताए ।
उनले एमाले अध्यक्ष केपी ओलीको अहंकार र एकाधिकारबाट मुलुकलाई मुक्त गरेको बताउँदै त्यसमा आफूले गर्व गरेको भनाइ राखे । ‘उहाँलाई देशको कुनै मतलव छैन, जनताको केही मतलव छैन, मलाई कामै गर्न दिइएन भन्नुहुन्छ’, उनले भने, ‘मलाई कामै गर्न दिइएन भन्न लाज लाग्दैन ?, प्रचण्डजी यहीँ हुनुहुन्छ, हाम्रा सल्लाह सुझाव पचेन, केपी ओली सुध्रिनेवाला हुनुहुन्न ।’ ओलीको अहंकार र एकाधिकारवादकै कारण एमालेले प्रतिगामी शक्तिहरुसँग साँठगाँठ गरेको उनको भनाइ थियो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले जिते जनतामा आएको शासन सत्ता फुत्किने डर रहेको बताउँदै संविधान र व्यवस्था रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । ‘सामान्य चुनावी तालमेलका रूपमा मात्रै बुझ्नु हुन्न’, उनले भने, ‘एमाले प्रतिगमनको यात्रामा छ, हामी अग्रगमन हौँ, यो सत्ताका लागि मात्रै गरिएको गठबन्धन होइन, व्यवस्था बचाउने गठबन्धन हो ।’











