
१. रूपन्देही निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ सत्तारुढ गठबन्धन उम्मेदवारविहीन, सर्वोच्च अदालतद्वारा नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको उम्मेदवारी खारेज, गुरुङको उम्मेदवारी खारेज भएसँगै निर्वाचन नै नभइ सत्ता गठबन्धनले एक सिट गुमायो, नेकपा एमालेका उम्मेदवार विष्णु पौडेललाई सहज ।

२. बुटवलमा पाँच दलीय गठबन्धनको संयुक्त प्रशिक्षण कार्यक्रम, गठबन्धनका उम्मेदवारले जित्नै पर्नेमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जोड, मुलुक पश्चगमनतिर जान लागेका बेला त्यसलाई बचाएर गठबन्धनका दलहरूले आफूलाई प्रधानमन्त्री बनाएकाले ती दलहरूलाई इमानदारीपूर्वक मत दिन आग्रह ।

३. आचारसंहिता विपरीत विभिन्न दलका नेता, उम्मेदवारले चुनावीसभालाई सम्बोधन गर्दै आयोग र आयोगका पदाधिकारीका सम्बन्धमा दिएको अभिव्यक्तिका विषयमा निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण, अभिव्यक्ति विषयमा अलग अलगरुपमा पत्र पठाइ स्पष्टीकरण माग, २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन ।

४. निर्वाचनका लागि मात्र अहिलेको गठबन्धन नबनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, संविधान, लोकतन्त्र र राष्ट्रको रक्षा गर्ने उद्देश्यले धेरै ठूलो मेहनतपछि बृहत्तर उद्देश्यका लागि गठबन्धन गरेको अभिव्यक्ति, जनताको जीवनस्तरमा परिवर्तन, संविधान रक्षाको सुनिश्चितता, निरङ्कुश प्रवृत्तिको अन्त्य र आर्थिक विकासको युग सुरु नहुँदासम्म गठबन्धन कायमै रहने ।

४. नेपालले जनताको लामो सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न निरन्तर पहल गरिरहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको भनाइ, आगामी मंसिर चार गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा प्राप्त उपलब्धिको रक्षा र अग्रगमनको पक्षमा मतदान हुने धारणा, एमालेका कारण कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुगेको टिप्पणी ।

५. आगामी निर्वाचनपछि नेकपा एमालेको सरकार बन्ने अध्यक्ष केपी शर्मा ओलीको दाबी, प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनपछि जेट विमानको गतिमा नेपालको विकास हुने भनाइ, मंसिर चार गते महाअदालत बसेर महाफैसला हुने टिप्पणी, अरुले २० वर्षमा नगरेको काम आफू सरकारमा हुँदा तीन वर्षमै गरेको दाबी ।

७. मेलम्चीको पानी यही महिना काठमाडौँ उपत्यकामा ल्याउने तयारी, आवश्यक सुधार र तयारीको काम हुँदै, आयोजनाका कतिपय संरचना, आयोजनासम्म पुग्ने सडक र पुल नबन्दासम्म तत्काल मर्मत गरेर पानी ल्याउन लागिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तको भनाइ ।

८. आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा वैदेशिक व्यापार घाटा दुई खर्ब ४४ अर्ब ९३ करोड पुग्यो, नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार सो अवधिमा नेपालले कुल दुई खर्ब ७३ अर्ब ६० करोड बराबरको सामान आयात, २८ अर्ब ६८ करोड रुपैयाँ बराबरको सामान निर्यात, निर्यात ३४ दशमलव नौ प्रतिशतले घट्दा आयात पनि १३ प्रतिशतले घट्यो ।

९. प्रधानमन्त्री कप अन्तर्गत बागमती प्रदेश छनोटमा मकवानपुरले जित्यो उपाधि, ललितपुरलाई दुई रनले पराजित, जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको ललितपुर ३५.१ ओभरमा १ सय ४९ रनमा अल आउट, काठमाडौं समूह चरणबाट बाहिरिएपनि कप्तान ज्ञानेन्द्र मल्ल सर्वोत्कृष्ट खेलाडी चुनिए, नन्दन यादव उत्कृष्ट बलर ।

१०. पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आगामी पाँच वर्षसम्म निर्वाचनमा भाग लिन नपाउने, सत्तामा रहँदा उनले अनावश्क रुपमा उपहार लिएको पाकिस्तानकाृ निर्वाचन आयोगले फैसला गरेपछि उम्मेदवार हुन अयोग्य घोषित, इस्लामावाद उच्च अदालतमा जाने खानको तयारी ।












