Logo
Logo

दाङ-१ मा यस कारण मेटमणि सुरक्षित


14.9k
Shares

दाङ । दाङको क्षेत्र नम्बर १ मा तीन पूर्वएमाले नेताबीच रोचक प्रतिस्पर्धा हुँदैछ । मंसिर ४ गते हुने निर्वाचनमा यो क्षेत्रमा मेटमणि चौधरी, शान्ता चौधरी र गंगा चौधरी प्रतिस्पर्धी छन् ।

२०७४ को निवार्चनमा यी तीन जना नेकपा एमालेबाट सांसद बनेका थिए । एकै समुदायका उनीहरु राजनीतिक सहयोद्धा पनि हुन् । २०७४ मा मेटमणि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने शान्ता र गंगा समानुपातिकतर्फबाट सांसद बनेका थिए । तर, यसपटक परिस्थिति बदलिएको छ ।

वर्तमान सहरी विकासमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका मेटमणि सत्ता गठबन्धनको साझा उम्मेखदवार हुन् । त्यसैले यस पटक पनि आफूले चुनाव जित्नेमा उनी विस्वस्त छन् । उनलाई नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत चार दलको समर्थन छ ।

यो क्षेत्रमा एमालेले शान्ता चौधरीलाई उम्मेदवार बनेको छ । तर, उनलाई चुनाव जित्न सहज छैन किनकि उनका लागि गंगा चौधरी चुनौती बनेका छन् ।

शान्ताका लागि क्षेत्र नम्बर १ का लागि नयाँ पनि हो । उनको घर क्षेत्र नम्बर २ भएपनि पार्टीले उनलाई १ मा उम्मेदवार बनाएको छ । यही विषयलाई लिएर गंगाले एमाले परित्याग गर्दै शान्ताविरुद्ध बागी उम्मेदवारी दिएका हुन् ।

एमालेको उम्मेदवार शान्ताविरुद्ध बागी परेपछि एकीकृत समाजवादीका मेटमणि स्वतः बलियो देखिएका छन् । सत्ता गठबन्धनको समेत साथ भएकाले उनको जित सुनिश्चित जस्तै रहेको विश्लेषण गर्न थालिएको छ ।

मेटमणिले यही क्षेत्रमा २०७४ को निर्वाचनमा एमालेबाट विजयी भएका थिए । यसपटक यस क्षेत्रका मतदाताले आफूलाई नै मत दिने दावी गर्दै आएका छन् ।

यस क्षेत्रमा लमही नगरपालिका, गढवा, राजपुर र राप्ती गरी चार स्थानीय तह छन् । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनअनुसार यो क्षेत्रमा कांग्रेस र माओवादी बलियो देखिन्छ ।

यहाँ माओवादी र कांग्रेसले २–२ वटा पालिका जितेका छन् । एमालेले कुनै पनि पालिका जितेको छैन । स्थानीय तहको मतलाई आधार मान्ने हो भने यस क्षेत्रमा मेटमणि नै बलियो देखिन्छ भने एमाले कमजोर ।

२०७४ सालको चुनावमा एमालेले जितेको लमही नगरपालिका र गढवा गाउँपालिका २०७९ मा गुमाएको छ । माओवादीले राप्ती र गढवा जितेको छ । अंक गणितअनुसार सत्ता गठबन्धनका उम्मेदवार मेटमणि सुरक्षित देखिन्छन् । त्यसमाथि पार्टी फुटको घाटा यहाँ एमालेलाई भएको छ ।

यस क्षेत्रमा स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा आएको मतभारअनुसार कांग्रेसको २९ हजार ७५७, एमालेको २७ हजार २५, माओवादीको १९ हजार २७६, राप्रपा २ हजार ३५०, एसको २ हजार ३४१ र जसपा ८०७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्