Logo
Logo

निर्वाचन प्रचारप्रसार : कात्तिक १७ देखि मंसिर १ सम्म


630
Shares

काठमाडौं । निर्वाचन आयोगले कात्तिक १७ देखि मंसिर १ गतेसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ । सोमबार आयोगका प्रवक्ता शालिग्राम पौडेलले विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिताको कार्यान्वयन र निर्वाचन प्रसारप्रसारका सम्बन्धमा पुनः स्मरण गराएका हुन् ।

आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयन भएरनभएको सम्बन्धमा निर्वाचन आयोग र जिल्ला आचारसंहिता अनुगमन समितिबाट भएको अनुगमन, उल्लघंनका घटनाबारे प्राप्त उजुरी तथा जानकारीका आधारमा स्पष्टीकरण सोध्ने र जवाफ आउने क्रम जारी रहेको जानकारी गराउँदै आचारसंहिताको प्रतिकूल हुने गरी कुनै पनि गतिविधि नगर्न राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृसंगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उक्त दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रशारण गर्न सकिने व्यवस्था रहेकाले कात्तिक १७ देखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सकिने उल्लेख गरेको छ ।

आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफै वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्न भनिएको छ । आयोगले दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा दशवटा राष्ट्रिय झन्डा प्रयोग गर्न सकिने, कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने र कुनै साम्प्रदायिक द्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने प्राबधान रहेको स्मरण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्