Logo
Logo

यस्तो छ माओवादीले खुट्याएको १० प्रमुख कार्यभार


3.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रतिवद्धतापत्रमा सार्वजनिक गरेको छ ।

प्रतिवद्धतापत्रमार्फत आफ्ना मुख्य १० कार्यभार खुट्याएको माओवादीले कार्यभार पूरा गर्ने प्रतिवद्धता जनाएको छ ।
१० मुख्य कार्यभार खुट्याएको माओवादीले प्रतिवद्धता पूरा गर्न दृढ सङ्कल्पसहित प्रतिबद्धता पूरा गर्ने उल्लेख गरेको छ । 

१० प्रमुख कार्यभार र प्रतिवद्धता शीर्षकमा माओवादीले लेखेको छ– ‘लोकतान्त्रिक क्रान्ति र संविधान निर्माणपछिको परिस्थितिमा मुलुकको अगाडि रहेको निम्नलिखित  मूल कार्यभारहरू पूरा गर्नुलाई हाम्रो पार्टी आफ्नो जिम्मेवारीको रूपमा ग्रहण गर्दछ र त्यसलाई  पूरा गर्न दृढ सङ्कल्पसहित प्रतिबद्धता व्यक्त गर्दछ ।’

माओवादीले खुट्याएको १० मुख्य कार्यभार र प्रतिवद्धता यस्तो छ–
१. राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, हित र स्वाभिमानको रक्षा एवम् सुदृढ गर्नुलाई सर्वोपरि राखिने छ र राष्ट्रिय एकतालाई त्यसको मूल आधार बनाइने छ ।

२. नयाँ प्रकारको मौलिक लोकतन्त्रका रूपमा स्थापित ऐतिहासिक राजनीतिक परिवर्तन, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व, समाजवादउन्मुख लोकतन्त्र र संविधानका उपलब्धिहरूको रक्षा गर्नु र वर्तमान लोकतन्त्र र संविधानको प्रभावकारी कार्यान्वयन र सकारात्मक अभ्यास गर्दै थप परिमार्जन गर्नु अर्को महत्वपूर्ण कार्यभार हो ।

अहिले परिवर्तन, उपलब्धि र संविधान माथि दुईकोणबाट प्रहार भइरहेका छन्। पहिलो, संविधानका प्रावधानहरूलाई सिधा उल्लङ्घन गरेर प्रतिगामी कदम चालिएका छन् र अझ चालिन सक्ने खतरा शून्य भइसकेको छैन । दोस्रो, नयाँ प्रकारको मौलिक लोकतन्त्रका रूपमा परिवर्तनलाई ग्रहण नगरी व्यवहारतः यसलाई परम्परागत संसदीय गणतन्त्र र औपचारिक पुँजीवादी लोकतन्त्रमा सीमित पार्ने खतरा पनि त्यत्तिकै छ । यी दुवै खतराहरूप्रति सचेत हुँदै वर्तमान परिवर्तन र संविधानका उपलब्धिहरूको रक्षा एवम् सुदृढीकरण गर्न जोड दिइने छ ।

वर्तमान परिवर्तन र संविधानलाई आवश्यकता अनुरूप परिमार्जन र विकास गर्दै लगिने छ । यसको पहिलो आधार संविधान जारी गर्दाको समयमा पार्टीका तर्फबाट संविधानसभामा दर्ज गरिएको भिन्न मत रहने छ । तर यतिबेला प्राप्त उपलब्धिको रक्षा एवम् सुढृढीकरणलाई नै प्राथमिकता दिइने छ ।

राजनीतिलाई परिवर्तनको माध्यम र जनसेवाको साधन बनाउन साथै आदर्श, विचार, सिद्धान्त, मूल्य र नैतिकताबाट विचलित एवम् भ्रष्टीकृत हुँदै गइरहेको अवस्थाबाट सही ठाउँमा ल्याउन वैचारिक सांस्कृतिक रूपान्तरणसहितको राजनीति सफा गर्ने अभियानलाई संविधान र लोकतन्त्रको रक्षाको अभिन्न अङ्ग बनाइने छ ।

३. आजको चरणको मूल कार्यभार भनेको संविधानको कार्यान्वयन गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्नु र समाजवादको आधार तयार पार्नु हो । यसरी राजनीतिक क्षेत्रको परिवर्तनलाई सामाजिक–आर्थिक क्षेत्रमा विस्तार गरेर समृद्धि हासिल गर्नु, त्यसलाई सामाजिक न्यायसँग अभिन्न रूपमा जोडेर सामाजिक न्यायसहितको समृद्धिको रूपमा अघि बढाउनु, जनताको जनजीविकाको आधारभूत समस्याहरू समाधान गर्नु र उत्पादक शक्तिको विकास एवम् उत्पादनको वृद्धिसहित समाजवादको आधार तयार पार्नु नै यतिबेलाको मूल कार्यभार हुन आएको छ । आजको भूमण्डलीकृत नवउदारवादी पुँजीवादले विकासोन्मुख देशहरूमा नवऔपनिवेशिकता एवम् दलाल पुँजीवाद लादेको अवस्थामा परम्परागत पुँजीवादी बाटोबाट राष्ट्रिय पुँजीको विकास सम्भव नहुने हुँदा राष्ट्रिय पुँजी एवम् उत्पादक शक्तिको विकास र उत्पादन सम्बन्धलाई प्रारम्भदेखि नै समाजवादउन्मुखतासँग जोडेर लगिने छ । समाजवादका अन्तर्वस्तुहरू सम्भव भएसम्म लागु गर्दै अघि बढिनेछ ।

४. अन्ततः नेपालमा समाजवादको स्थापना हाम्रो रणनीतिक लक्ष्य एवम् कार्यभार हो। हाम्रा सबै नीति, कार्यक्रम र आचरण २१ औं शताब्दीअनुरूपको समाजवादी नेपाल निर्माण गर्नमा नै अभिमुख हुनेछ । समाजवाद उन्मुख समृद्धि हासिल गर्नुलाई तत्कालको मूल कार्यभार बनाउँदै र समाजवादको आधार तयार पार्दै अन्ततः समाजवाद स्थापनाको लक्ष्य पूरा गरिने छ ।
वर्तमान संविधानले समाजवादको लक्ष्य निर्धारण गरे पनि त्यसको स्पष्ट व्याख्या गरेको छैन । हाम्रो पार्टी वैज्ञानिक समाजवादको मूल मान्यतामा आधारित समाजवाद निर्माणको पक्षमा छ । त्यो सारतत्वमा पुँजीवाद नै रहने खालको ‘प्रजातान्त्रिक समाजवाद’ हुने छैन । साथै, यसअघि सोभियत सङ्घलगायतका देशहरूमा अभ्यास गरिएको ‘सोभियत मोडेल’को समाजवादको यान्त्रिक अन्धानुकरण पनि हुने छैन । बरू त्यसबाट शिक्षा लिँदै त्यसका गल्ती कमजोरीहरू सच्याइएको नयाँ मोडेलको उन्नत समाजवाद हुनेछ । एक राजनीतिक दल विशेषको मात्र उपस्थिति तथा भूमिका र उत्पादनका सम्पूर्ण साधन तथा सम्पत्तिको पूर्ण राष्ट्रियकरणलाई नै समाजवाद ठान्ने सोच अवलम्बन गरिने छैन । समाजवादलाई सर्वहारा श्रमजीवी वर्ग र सिङ्गो मानव जातिको मुक्ति केन्द्रित राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक लगायत समग्र प्रणालीको रूपमा आत्मसात् गरिने छ । मानवमाथि हुने सबै प्रकारको भेद्भाव तथा उत्पीडनको अन्त्य, व्यक्ति तथा मानव समाजको सर्वतोमुखी विकास एवम् पूर्ण स्वतन्त्रता र प्रकृति एवम् पर्यावरणको रक्षा एवम् सन्तुलन हाम्रो समाजवादको मूल अन्तर्य हुनेछ । २१ औं शताब्दीअनुरूपको नेपाली विशिष्टतामा आधारित नेपाली मोडेलको समाजवाद लोकतन्त्रको उच्चतम रूप हुनेछ । त्यसमा व्यक्तिगत स्वतन्त्रता, लोकतान्त्रिक अधिकार र स्वस्थ प्रतिस्पर्धा सुनिश्चित गरिने छ ।

५. नेपाली क्रान्तिको मौलिक बाटोको अभिन्न एवम् महत्वपूर्ण अङ्ग शान्ति प्रक्रिया पनि हो । शान्ति प्रक्रियाको दुई महत्वपूर्ण पक्षहरू संविधानसभाबाट संविधान निर्माण एवम् उपलब्धिहरूको संस्थागतता र सेना समायोजनसहित जनमुक्ति सेना व्यवस्थापनको कार्यभार मूलतः पूरा भइसकेको छ । तर शान्ति प्रक्रियाको महत्वपूर्ण कार्यभारका रूपमा रहेको सङ्क्रमणकालीन न्यायको काम पूरा हुन बाँकी छ । सत्यनिरूपण तथा मेलमिलाप आयोग एवम् बेपत्ता छानविन आयोगको काम पूरा भएपछि मात्र शान्ति प्रक्रिया समग्रतामा पूर्ण सफल हुनेछ । राष्ट्रिय मेलमिलाप, दिगो शान्ति र पीडितहरूलाई न्यायसहित सत्यनिरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छनविन आयोगको कामलाई यथाशीघ्र पूर्णता दिई शान्ति प्रक्रियालाई पूर्ण रूपमा सफल पारिनेछ ।

प्रतिक्रिया दिनुहोस्