Logo
Logo

सङ्घीयतालाई प्रभावकारी बनाउन प्रदेश सरकारलाई अधिकार, वित्तीय स्रोत दिनुपर्छ : मुख्यमन्त्री यादव


0
Shares

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सङ्घीयतालाई प्रभावकारी बनाउन प्रदेश सरकारलाई अधिकार, वित्तीय स्रोत दिनु पर्ने बताएका छन् । 

The current image has no alternative text. The file name is: yadv-1.jpg

विराटनगरमा मङ्गलवारदेखि सुरु भएको ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’मा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले प्रदेशलाई आवश्यक अधिकार र स्रोतसाधन नदिई सङ्घीयता बलियो बन्न नसक्ने बताएका हुन् । उनले प्रदेशबिचको सहकार्य र साझेदारीलाई दिगो बनाउन प्रत्येक प्रदेशलाई सक्षम बनाउनुपर्नेमा बताएका छन् । 

उनले भने, ‘साझेदारीले प्रदेशहरूलाई जोड्छ, तर प्रदेश आफैँमा सक्षम नभई सहकार्य टिक्दैन । हामी अधिकार माग्न मात्र आएका होइनौँ, जिम्मेवारी बहन गर्न पनि तयार छौँ ।’

मुख्यमन्त्री यादवले प्रदेशहरूबिचको सहकार्यलाई सहयोग माग्ने माध्यमका रूपमा नभई साझा समृद्धिको आधारका रूपमा विकास गर्नुपर्ने बताएका छन् । उनले सबै प्रदेशको साझा समस्याको पहिचान गरी संयुक्त योजना निर्माण, सहलगानी र त्यसबाट प्राप्त हुने लाभलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताए ।

यादवले मधेश प्रदेशको कृषि उत्पादनलाई अन्तरप्रदेश सहकार्यको महत्त्वपूर्ण आधार बनाउन सकिने बताए । उनले उच्च मूल्यका कृषि उपजको साझा ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन मधेश प्रदेश तयार रहेको बताए ।

त्यस्तै, उनले पर्यटन प्रवर्द्धनका लागि ‘एक यात्रा, अनेक प्रदेश’ अवधारणाअनुसार संयुक्त रूपमा काम गर्नुपर्ने बताए । यादवले सङ्घीयता कार्यान्वयन भएको एक दशक पुग्न लाग्दा पनि प्रदेशले अपेक्षित अधिकार प्राप्त गर्न नसकेको गुनासो गरे ।

उनले प्रहरी समायोजन, निजामती सेवा ऐन, शिक्षा ऐन र स्वास्थ्य सेवा ऐनसम्बन्धी विषय टुंगोमा नपुग्दा प्रदेश सरकारको कामकारबाहीमा जटिलता थपिएको बताएका छन् । 

यस्तै, प्रदेशलाई जिम्मेवारी मात्र दिएर नहुने भन्दै यादवले जिम्मेवारी पूरा गर्न आवश्यक अधिकार, स्रोतसाधन र प्रशासनिक संरचना पनि उपलब्ध गराउन सङ्घीय सरकारसँग आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्