काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका उम्मेदवारहरुलाई यतिखेर चुनावी प्रचारप्रसारको चटारो छ । उम्मेदवारहरु मतदाताको घरघरमा मत माग्न माग्न व्यस्त छन् ।
यस्तै, काठमाडौं क्षेत्र नम्बर–५ का नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल पनि चुनावी अभियानमा व्यस्त छन् । यो काठमाडौंको निर्वाचन क्षेत्रमध्ये चर्चित पनि छ । काठमाडौं–५ मा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका एक दर्जन स्वतन्त्र उम्मेदवार छन् । तर, मुख्य प्रतिस्पर्धी प्रदीप र ईश्वर देखिएका छन् ।

अघिल्लो निर्वाचनमा पोखरेलले यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य जितेको ईश्वरलाई यस पटक चुनाव जित्न चुनौती छ । प्रदीप पौडेल नेपाली कांग्रेसका प्रभावशाली युवा नेता मान्छिन् । उनलाई युवाहरुको समेत समर्थन रहेकाले ईश्वरलाई चुनौती बनेको हो ।
साथै, अहिलेसम्म लाभको पदमा नपुगेका प्रदीप ‘फ्रेस उम्मेदवार’ उम्मेदवार हुन् । उनीप्रति काठमाडौं–५ का मतदाताले पनि नजिकबाट नियालिरहेका छन् । पुराना नेतादेखि वाक्कदिक्क भएका मतदाताहरु स्वतन्तलाई मत दिनुभन्दा युवा नेतालाई मत दिने मनशायमा छन् भने प्रदीपबारे स्वतन्त्र उम्मेदवारहरुले समेत कुनै टिप्पणी गरेका छैनन् ।
नेविसंघको राजनीतिबाट निखारिएका नेता प्रदीप सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । यो क्षेत्रमा एमालेले पनि जसपालगायतसँग तालमेल गरेको भएपनि ईश्वरभन्दा प्रदीप केही बलियो देखिन्छन् । अहिले सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीलगायत पाँच दल रहेका छन् ।
यो क्षेत्रमा दुई पटकसम्म लगातार नेपाली कांग्रेसका नेता नरहरि आचार्यले चुनाव जितेका थिए । पटक–पटक चुनाव जितेका नरहरिपछि २०७४ को निर्वाचनमा अर्का कांग्रेस नेता प्रकाशशरण महत यो क्षेत्रमा उम्मेदवार बनेका थिए । तर, आचार्यको विरासत महतले जोगाउन सकेनन् ।
नेता आचार्यप्रति काठमाडौं– ५ का मतदाताको सहानुभूति अझै कायम छ । अहिले आचार्यले प्रदीपलाई नैतिक समर्थन गरेका छन् । आचार्यले कांग्रेस बैठकमा गणतन्त्रको बहस गर्दा गगन थापा र प्रदीप पौडेलले सडकमा गणतन्त्रको नारा लगाएका थिए ।
नेता प्रदीपले अहिले ‘बीसीडी’को नारा बनाएका छन् ।
बीसीडी अर्थात स्टप ब्रेन ड्रेन, फाइट करप्सन र सस्टेनेबल डेभलपमेन्टको नारा लिएर उनी चुनावी मैदानमा छन् । अहिले यु्वाहरुले काठमाडौं–५ मा प्रदीप जिताऔँ अभियान नै चलाएका छन् । प्रदीप पनि आफू चुनाव जित्नेमा ढुक्क छन् । उनी भन्छन्– मलाई यो क्षेत्रका युवाको साथ छ । अहिलेको समयमा युवा निर्णाय हुन् ।
एमालेको आधार भनेको स्थानीय तहको निर्वाचन हो । स्थानीय निर्वाचनमा वडातहमा पाएको मतका आधारमा एमालेले काठमाडौं–५ लाई सुरक्षित ठानेपनि स्थानीय र प्रतिनिधिसभा निर्वाचनलाई ठ्याक्कै तुलना गर्न मिल्दैन ।
यस्तो छ अंकगणित
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस उम्मेदवार प्रकाशशरण महतविरुद्ध १० हजारको मतान्तरले ईश्वर विजयी भएका थिए । तर, त्यो समय माओवादीको समेत समर्थन रहेको तत्कालीन वामपन्थी गठबन्धनका उम्मेदवार थिए ईश्वर पोखरेल । त्यो बेला ईश्वरले २३ हजार २९ मत प्राप्त गर्दा कांग्रेसका महतले १३ हजार ६९ मत प्राप्त गरेका थिए ।
तर, अहिले कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीलगायत पाँच दलीय गठबन्धन एकातर्फ छ भने एमाले, जसपालगायतसँग अर्को गठबन्धन छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडा तहको मतका आधारमा एमाले सत्ता गठबन्धनभन्दा केही मात्र अगाडि छ ।
स्थानीय तह निर्वाचनमा एमालेले १९ हजार ७०३ मत पाउँदा कांग्रेसले १४ हजार ८५३, एकीकृत समाजवादीले १ हजार ८ सय २७ र नेकपा माओवादी केन्द्रले १ हजार १ सय ६८ मत पाएका थिए ।
गठबन्धनका सहयात्री माओवादी र एकीकृत समाजवादीकोे उपस्थिति कमजोर छ । तर, अधिकांश वडामा आफ्ना उम्मेदवार रहेकाले स्थानीय तहको मतलाई आधार मान्न नमिल्ने विश्लेशकहरु बताउँछन् ।
स्थानीय तह निर्वाचनमा राप्रपाले २ हजार ८२२ मत पाएका थियो । काठमाडौं–५ मा राप्रपाको तर्फबाट त्यहाँका प्रभावशाली व्यक्ति डा. रामप्रसाद उप्रेतीले टिकट पाएका छन् । व्यक्तिगत प्रभावका आधारमा उनले राम्रै भोट ल्याउने स्थानीयको विश्लेषण छ ।
यस्तै, यसै क्षेत्रमा रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’बाट डा. प्रणय शमशेर राणा उम्मेदवार छन् । स्थानीय चुनावको मत एउटा आधार भएपनि प्रतिनिधिसभा निर्वाचनको सन्दर्भ र उम्मेदवार फरक पर्ने भएकाले नतिजा कसको पक्षमा जाला भनेर ठ्याककै अनुमान गर्न कठिन छ ।
तर, यस निर्वाचनमा स्थानीय इञ्जिनीयर सुशान्त श्रेष्ठदेखि युट्युबर हेमराज थापासम्म स्वतन्त्र उम्मेदवार छन् । यस्तै, श्रीराम गुरुङ, विनिता अर्याल, बाबुराम पोखरेल, गोपीलाल न्यौपाने, विजक कंडेल, कृष्णलाल श्रेष्ठ, शान्तिराम पाण्डे, कुमार कोइराला, नारायणप्रसाद दाहाल, शैलेन्द्र बस्नेत, रमेश केसी लगायत १२ जना स्वतन्त्र उम्मेदवार छन् ।
स्वतन्त्र उम्मेदवारको बाढी आएपनि अहिलेसम्म सत्ता र विपक्षी गठबन्धनका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा देखिन्छ । र, स्वतन्त्र उम्मेदवारको बाढीले प्रदीप नै फाइदा पुग्नेसमेत स्थानीयको विश्लेशण छ । स्वतन्त्र उम्मेदवारहरूले ‘ह्वीम’ ल्याउन नसकेका कारण पनि प्रदीपलाई फाइदा भएको उनीहरुको बुझाइ छ ।












