रूपन्देही । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपछि पनि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने दावी गरेका चुनावमा सबैभन्दा धेरै सीट कांग्रेसले ल्याउने र पार्टी सभापतिको हैसियतमा देउवा नै प्रधानमन्त्री हुनुपर्ने उनको भनाइ छ ।

बुधबार रुपन्देहीमा आयोजित साक्षात्कार कार्यक्रममा कांग्रेस निर्वाचन प्रचारप्रसार समितिका संयोजकसमेत रहेका उनले १६५ सीटमध्ये ९१ सीटमा नेपाली कांग्रेसका उम्मेदवार भएकोले अन्य पार्टीभन्दा धेरै सीट ल्याउने दाबी गरे ।
एमालेको घोषणापत्रमा पाँच वर्ष अगाडिकै योजना भएको भन्दै उनले घोषणापत्रमा समेटिएका बुँदाहरू जनतालाई झुक्याउनेभन्दा नयाँ केही नभएको जिकिर गरे ।
‘पाँच वर्षअघि समेटिएका पानी जहाज, पाइपलाइन ग्यास र रेलजस्ता कुराहरु कार्यान्वयनभन्दा पनि फगतमात्रै भएको सरकार चलाउँदा पुष्टि भइसकेको छ’ उनले भने ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले आगामी दिनमा संघीय निर्वाचनमा कांग्रेसका महिला नेतृहरूलाई प्रत्यक्षमा उठाउने गरी अगाडि बढ्ने जनाइन् ।












