Logo
Logo

सन्दीप प्रकरण- पीडित नाबालिग नभएको प्रमाण अदालतमा पेश


24.9k
Shares

काठमाडौं । नाबालिका बलात्कार अभियोगमा थुनामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेका वकिलहरुले पीडित नाबालिग नभएको प्रमाण अदालतमा पेश गरेका छन् ।

जिल्ला अदालत काठमाडौंमा दुई दिनदेखि जारी थुनछेकको बहसका क्रममा बुधबार सन्दीपका वकिलहरुले पीडित नाबालिग नरहेको प्रमाण पेश गरेका हन् । पीडित भनिएकी र अभियोग लागेका सन्दीप दुवैजनाको बयान इजलासमा सकिएपछि उक्त प्रमाण पेश गरिएको हो ।

सन्दीपको तर्फबाट बहसमा सहभागी वकिलहरुले पीडित नाबालिग नभएको प्रमाणस्वरुप जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि न्यायाधीशसमक्ष पेश गरेका हुन् । सन्दीपको पक्षबाट बसह गरिरहेका कानुन व्यवसायी मुरारी सापकोटाले उक्त प्रमाण अदालतमा पेश गरेका हुन् ।

अदालतमा पेश गरिएको उक्त प्रमाणपत्रमा पीडित भनिएकी किशोरीको जन्म २०६१ असार १८ गते भएको उल्लेख छ । यसअनुसार पीडित १८ वर्ष ३ महिना पूरा भइसकेको देखिएको छ ।

मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बयान सकिएपछि आजदेखि बुधबार थुनछेक बहस सुरु गरिएको छ । बहस चलिरहे पनि आजै टुंगिन सक्ने अवस्था छैन ।

सन्दीपले गरेको कसुर, उनलाई हुनसक्ने सजाय, बाहिर राख्दा पुग्न सक्ने क्षति आदि कुरालाई मध्यनजर गर्दै सन्दीपलाई थुनामै राख्नुपर्ने भन्दै वादी नेपाल सरकारका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले शुरुवाती बहस गरेका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा भएको थुनछेक बहसमा आज सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरे । उनीहरुले सन्दीपले बलात्कार गरेको दावी गरेका छन् ।

पीडित किशोरीको बयान अनुसार त्यस राति सन्दीप उक्त होटलमा देखिएको, सिसी टिभी फुटेज लगायतबाट उक्त कुरा पुष्टि भएको र राति एउटै कोठामा बसेकोसम्म प्रतिवादीले स्वीकार गरिसकेको र अन्य घटना प्रमाण तथा बयानहरुका आधारमा बलात्कार पुष्टि भएको दावी उनीहरुको थियो ।

भोलि बिहीबार सन्दीपको पक्षबाट बहस गर्ने वकिलहरुको सूचीमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, लभप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सविता बराल भण्डारीलगायत छन् ।

प्रतिक्रिया दिनुहोस्