काठमाडौं । साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । डवल राउन्ड रोविन लिगको अन्तिम खेलमा शुक्रबार घरेलु टोली बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपालले उपाधि जितेको हो ।

नेपालका लागि सुशिला केसीले गोल गरे भने बंगलादेशका लागि रुमा अख्तरले बराबरी गोल फर्काए । पहिलो हाफमा नेपालले लिएको अग्रता दोस्रो हाफमा जोगाउन सकेन ।
खेलको १४औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई सुरूआती अग्रता दिएका थिए । अन्तिम मिनेटमा नेपालले पेनाल्टी बचाएपछि उपाधि नेपालको जित्यो । त्यसअघि ५४औं मिनेटमा बंगलादेशका लागि रुमा अख्तरले बराबरी गोल गरेका थिए ।
प्रतियोगितामा अपराजित नेपालले चार खेलबाट ३ जित र एक बराबरीसहित १० अंक जोडेको छ । आयोजक बंगलादेश २ जित र १ बराबरीसहित सात अंकमा सीमित रहदै दोस्रो भयो । तीन टिम सम्मिलित प्रतियोगितामा भुटान अंकविहीन स्थितिमा पुछारमा रह्यो ।












