Logo
Logo

‘जीवनसँग कहिल्यै हार मान्दिनँ’



अभिनेत्री तथा निर्मात्री सोनु थारु कुनै समय चर्चामा आइरहन्थिन् । मोडलिङ हुँदै थारु भाषा फिल्म निर्माणमा लागेकी सोनु अभिनयसँगै आफ्ना नीजि जीवनसँग जोडिएका विषयले मिडियामा छाइरहन्थिन् । तर, उनी कोभिड महामारीपछि सेलाइन् । अहिले उनी पुनः उठ्ने प्रयासमा छिन् ।

दुई दशकदेखि थारु संस्कृतिमा आधारित फिल्म र गीतसंगीत निर्माणमा क्रियाशील सोनु २०७० सालतिर राजनीतिमा समेत सक्रिय भइन् । थरुहट तराई पार्टी नेपालमा आवद्ध भएर राजनीतिमा सक्रिय उनी उक्त पार्टी कांग्रेसमा समाहित भएपछि निष्क्रिय भइन् । सोनु भन्छिन्, ‘अहिले कुनै पार्टीमा छैन । म विशुद्ध फिल्म एवं संस्कृतिकर्मी हुँ ।’ ‘दरार’, यि कैसिन नाता’, ‘डगर’जस्ता थारुभाषाका फिल्म निर्माण र अभिनय गरेकी सोनु हिजोआज गीतसंगीत निर्माणमा व्यस्त छिन् । दाङ, देउखुरीकी अभिनेत्री सोनु थारुसँग दृष्टिको जम्काभेट :

हिजोआज के गर्दै हुनुहुन्छ ?
थारु समुदायको संघर्षमा आधारित एल्बम ‘थरुहट संघर्ष’का गीत तथा भिडियोहरुको काम गर्दैछु । जुन ९ वर्ष अगाडि सुटिङ सकिएको भएपनि बाहिर ल्याइएको थिएन । जुन एल्बममा चारवटा गीत छन् । तीमध्ये दुई गीत ‘आदिवासी थारु हामी धर्ती पुत्र’ र ‘थारुको अन्तिम लडाइँ’ बोलका दुई गीतको भिडियो आइसक्यो । अरु चाँडै सार्वजनिक गर्दैछु ।

मोडलिङ र अभिनय गर्दागर्दै फिल्म निर्माणमा लागेपछि चर्चामा आउनुभएको थियो । अहिले किन सेलाउनुभयो ?
त्यो समय त्यस्तै थियो । कामहरु धमाधम गर्दैथिएँ । तर, बीचमा पारिवारिक समस्याहरु झेल्नुप¥यो । पारिवारिक समस्या समाधान गरेर फिल्मकै काम सुरु गर्दैगर्दा कोभिड महामारी फैलियो । कोभिडका कारण म मात्र नभएर सारा व्यवसायी र मनोरञ्जन क्षेत्र ठप्प भयो । म सेलाउनुको कारण पनि महामारी नै हो । तर, फेरि अगाडि बढ्ने प्रयास गर्दैछु ।

एक अन्तर्वाता ‘मेरो जीवन फिल्मको कथाभन्दा कम छैन’ भन्नुभएको थियो । अहिले त्यो उताव–चढावबाट मुक्त हुनुभयो कि छैन ?
सबैको जीवनमा उताव–चढाव भन्ने हुन्छ । तर, मैले अलि धेरै उताव–चढाव बेहोरेकी छु । अहिले त्यस्तो छैन । तैपनि जीवनमा घटेका र भोगेका कुराहरु यादमा आइरहने रहेछ ।

एक समय फिल्म क्षेत्रबाटै फ्रस्टेशन हुनुभयो रे भन्ने सुनिएको थियो नि ?
फिल्म क्षेत्रबाट फ्रस्टेशन भएकी छैन । हुँदिन पनि । एकपटक जीवनबाट फ्रस्टेट भएकी हुँ । तर, मैले हार मानिनँ । अब जीवनदेखि हार मान्नेवाला छैन ।

पहिलो प्रेम र विवाह जसरी असफल बन्यो, फिल्मका नाम पनि त्यस्तै–त्यस्तै राख्नु हुन्छ ?
मेरो फिल्ममा म आफैँ स्टोरी लेख्छु । यसअघि बनाएका फिल्ममा मेरै कथा छन् । म फिल्मको स्टोरी लेख्न रुचाउँछु । मैले बनाएका र लेखेका फिल्ममा आफ्नै भोगाइहरु समेटेको हुन्छ । स्टोरीअनुसार फिल्मको नाम जुराउँदा त्यो मेल खाएको हुन्छ ।

‘दरार’ र ‘यि कैसिन नाता’ फिल्म तपाइँकै कथामा बनेको हो ?
पूरै फिल्म म माथि आधारित छैन । तर, ती दुईवटै फिल्ममा मेरो भोगाइहरु छन् । जस्तै, एकजना महिला कलाकारितामा संघर्ष गरिरहेको हुन्छ । तैपनि उ घरको खटिरहेको हुन्छ । पेग्गेन्सी भएको अवस्थामा पनि उसले आराम गर्न पाएको हुँदैन । फिल्ममा समेटिएका ती दृश्य मेरै भोगाइ हो ।

फिल्म क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
फिल्म क्षेत्रमा लाग्ने मेरो सोच थिएन । अचानक यो क्षेत्रमा लागेँ । २०५९ सालतिर दाङबाट साथीसँग घुम्न काठमाडौं आएकी थिएँ । त्यो बेला एउटा म्युजिक भिडियोमा अफर आयो । अफरलाई मैले नाइँ भन्न सकिन । त्यो बेला मलाई क्यामेरा अगाडि पर्न डर लाग्थ्यो । तर, लगातार भिडियोमा अफर आउन थाल्यो ।

मोडलिङमा व्यस्त भइरहेकै बेला फिल्म निर्माणमा किन हाल्नुभयो ?
त्यो बेला थारु भाषाका फिल्म ‘बौछार’, ‘जीवन एक लडिया’, ‘हटाइ कुहिरा’ एकदमै हिट थियो । यी फिल्महरुको चर्चा भइरहेको सुन्दा मलाई पनि फिल्म बनाउँ–बनाउँ लाग्यो । मलाई फिल्मको स्टोरी लेख्न पनि रुचाउँथे । त्यही समय थारु फिल्मका हिट अभिनेता प्रेम चौधरीसँग चिनजान भयो । उहाँसँग चिनजान भएपछि झनै फिल्म बनाउने उत्साह जाग्यो र ‘दरार’ बनाएँ । त्यसपछि निरन्तर फिल्म निर्माण लागेँ ।

फिल्मको नामजस्तै पे्रम चौधरी र तपाइँबीच दरार भयो होइन त ?
हजुर हो । उहाँले सुरुमा फिल्म निर्माणमा हात नहाल्नु भन्नुभएको थियो । तर, मानिनँ । मेरै कथामा ‘दरार’ फिल्म बन्यो । प्रेमजीसँग ‘यि कैसिन नाता’, ‘डगर’, ‘सोना बेबी के मस्ती’सम्म सँगै काम ग¥यौँ ।

चार वर्षअघि नै नेपाली फिल्म निर्माण गर्ने घोषणा गर्नुभएको थियो । अब बन्छ कि बन्दैन ?
बन्छ, नेपाली भाषाको फिल्म बनाउने मेरो सपना हो । दुई वर्षअघि नेपाली फिल्म निर्माण गर्ने तयारी गर्दैगर्दा कोभिड महामारी फैलियो । त्यसपछि काम रोकियो । अब चाँडै बनाउँछु । त्यसअघि थारु फिल्म ‘मस्तेली’ बनाउँछु । अहिले यसको तयारी हुँदैछ ।

दुई दशकको फिल्म यात्रामा खुसी हुनुहुन्छ ?
खुसी छु । पैसा कमाउनु र गुमाउनु बेग्लै कुरा । तर, फिल्म क्षेत्रमा लागेर मैले थारु समुदायका लागि धेरै गरेकी छु । त्यसअनुसार उहाँहरुको माया र सम्मान पाएकी छु ।

प्रतिक्रिया दिनुहोस्