
काठमाडौं । वाम–लोकतान्त्रिक गठबन्धनले भोजपुरको पौवादुङमा गाउँपालिकाको वडा नम्बर २ तिवारी भञ्ज्याङमा आयोजना गरेको चुनावी सभामा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।
कार्यक्रमस्थल नजिकै अरुण गाउँपालिका घर भएका सुमल श्रेष्ठको झोलामा रहेको बम विस्फोट हुँदा सुमल र एक महिला सामान्य घाइते भएका हुन् । घाइते दुवैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । विस्फोटमा संलग्न रहेको आरोपमा सुमललाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत जाँदैछन् । प्रचण्ड र महत भने कार्यक्रमस्थल पुगिसकेका छैनन् ।
विस्फोट भएको आसपासमा नेकपा एमालेले मोटरसाइकल र्याली गरेको थियो । सोही पालिकाको ३ नम्बर वडामा एमालेले पनि आजै चुनावी सभा आयोजना गरेको छ ।














