Logo
Logo
कला

‘मलाई सबै पार्टी उस्तै लाग्छ’



गायिका पवित्रा गुरुङले यस पटक दर्जनभन्दा बढी चुनावी गीत गाइन् । त्यसो त यसपल्ट निर्वाचनमा थुप्रै कलाकारले उम्मेदवारी दिएका थिए । तर, जित हासिल गर्न असफल भए । गायिका गुरुङ भने चुनावी गीत गाएरै मालामाल भइन् । पवित्राले यस निर्वाचनमा राप्रपादेखि सत्ता गठबन्धनको चुनावी प्रचारका गीत गाइन् ।

चुनावी गीत गाउँदा उनलाई राजनीतिमा लागेको भन्ने आरोपसमेत लाग्यो । पवित्रा भन्छिन्, ‘यो निर्वाचनमा सबै दलका गीत गाएँ, तर माओवादीको चु्नावी गीत गाउँदा ‘माओवादीको पनि गीत गाउने हो ?’ भने । संखुवासभा, खाँदबारीकी पवित्राले सांगीतिक क्षेत्रमा एक दशकभन्दा बढी संघर्ष गरिसकेकी छन् । ‘कलाकार भनेको कुनै राजनीतिक दल विशेष नभइ राष्ट्रको गहना’ भएको उनको भनाइ छ । गायिका पवित्रा गुरुङसँग एमपी सुब्बाको जम्काभेट :


सन्चै हुनुहुन्छ ?
एकदमै सन्चै छु । जाडो मौसम सुरु भएको छ । अरु सबै ठीकठाक छु ।

हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
गीतसंगीतकै काममा व्यस्त छु । भर्खरै चुनाव सकिएको छ । चुनावअघिचाहिँ चुनावी गीतहरु गाउन व्यस्त थिएँ । केही भजनहरु पनि गाएँ ।

कुन कुन पार्टीको चुनावी गीत गाउनुभयो ?
प्राय सबै पार्टीको गाएँ । राप्रपादेखि सत्ता गठबन्धनमा रहेका दलहरु र गठबन्धनको साझा गीत पनि गाएँ । यसपटक मात्र मैले चुनावी एक दर्जभन्दा बढी गाएँ ।

राजनीतिक दलका गीत गाउँदा के प्रतिक्रिया पाउनुभयो ?
अरु पार्टीको गाउँदा त्यस्तो केही प्रतिक्रिया आएन । गाएँ, सकियो । तर, जब चेतन सापकोटासँग नेकपा माओवादीको गीत गाएँ, त्यसमा चाहिँ केहीले फोन गरेर माओवादीको गीत पनि गाउने हो भन्नुभयो । तर, पार्टीको आस्थाभन्दा पनि एक जना कलाकार भएकाले गाएकी हुँ । व्यवसायी कलाकार भएकै कारण कांग्रेस, एमाले, राप्रपालगायत सबै दलका गीत गाएँ ।

कुनै राजनीतिक दलप्रति आस्था त होला ?
खै के भन्नु ? अहिलेसम्म मैले भोट हालेकै छैन । मलाई सबै राजनीतिक दल उस्तै लाग्छ । जसले देश र जनताको पक्षमा काम गर्छ, त्यो दललाई चुन्नपर्छ भन्नेचाहिँ लाग्छ ।

पहिलोपटक काठमाडौं केका लागि आउनुभएको थियो ?
गायिका बन्छु भनेरै आएकी हुँ । सन् २०११ मा काठमाडौं आएकी हुँ । त्यतिखेर मेरो आफ्नै शब्द, संगीत र स्वरमा ‘कुक्कू कुक्कू’ बोलको गीत रेर्कड गर्न आएकी थिएँ ।

गीतसंगीतमा लाग्ने प्रेरणा कसरी मिल्यो ?
म सानैदेखि गुन्गुनाउँथे । रेडियोमा गीत सुन्दा एकदिन गायिका बन्छु भन्ने सोचेकी थिएँ । जब बुझ्ने भएँ, त्यसपछि गीत गाउन सुरु गरेकी हुँ ।

अहिलेसम्म कति गीत गाउनुभयो ?
गाउन त थुप्रै गाइसकेँ, अहिले गन्न छाडेकी छु । तर, मैले थोरैमात्र भिडियो बनाएकी छु । मेरो सोलो एल्बम नै तीन वटा छन् । त्यसबाहेक लोक, भाषाभाषीका गीत र भजनहरु पनि गाएकी छु । ढेड सयभन्दा बढी भयो होला ।

तपाइँको बढी रुचाइएको गीत कुन हो ?
सुरुमा गाएका अधिकांश गीत श्रोताले रुचाएका थिए । मेरो तीन वटा सोलो एल्बममध्ये एक ‘पिरती’का गीतहरु दर्शक÷श्रोतामाझ चर्चित बनेको थियो । ‘पिरती’ एल्बमकै गीत ‘जाली माया’ रेडियोमा अत्याधिक बज्यो । जसले मलाई गायिकाका रुपमा समेत स्थापित ग¥यो । तर, अहिले पहिलेजस्तो छैन । अहिले श्रोताले कस्तो गीत श्रोताले रुचाउँछन् भन्ने नै भ्याउ नै पाइँदैन ।

स्टेज कार्यक्रममा तपाइँ किन कम देखिनुहुन्छ ?
म स्टेजमा भन्दा स्टुडियोमै बढी व्यस्त छु । मलाई नेपालमा भन्दा विदेशमा कार्यक्रम गर्ने इच्छा छ । नेपालभित्रका लागि त अफर आइरहेकै छन् । तर, मेरो प्राथमिकता विदेश कार्यक्रम हो ।

गीतसंगीतबाहेक अरु के गर्नुहुन्छ ?
अहिलेसम्म केही गरेकी छैन । त्यसैले अहिलेसम्म गीतसंगीतमै फूलटाइमर हुँ ।

गीतसंगीतले मात्र काठमाडौंको महँगी धान्न सकिन्छ ?
अहिलेसम्म आफ्नो लागि पु¥याएकी छु । मिहिनेत ग¥यो भने गीतसंगीतबाट कमाउन पनि सकिन्छ ।

घरजम गर्नेबारे केही सोच्नु भएको छैन ?
छैन । त्यतातिर त मेरो ध्यानै गएको छैन ।

बेला त भयो नि होइन र ?
बेला त भइसक्यो । तर, विवाह भन्ने कुरा बेला भएर सोचेर मात्र हुँदैन । त्यो भगवानले नै लेखेर पठाएको हुन्छ । त्यसैले अहिलेसम्म जुरेको छैन ।

प्रतिक्रिया दिनुहोस्