Logo
Logo

चार दशकदेखि अविच्छिन्न मिसन पत्रकारिता



नेपालको सन्दर्भमा पञ्चायती व्यवस्था ढालेर बहुदलीय व्यवस्था ल्याउन अभियानका रुपमा ‘मिनस पत्रकारिता’ सुरु भएको हो । यो शब्द नेपाली पत्रकारितामा चलाइएको ‘नेङ्लिस’ (नेपाली, अंग्रेजी) को ठिमाहा हो । अंग्रेजीमा भन्नु पर्दा यसलाई मिसन अफ जर्नालिजम भनिन्छ । एउटा निश्चित उद्देश्य प्राप्तिका लागि गरिने पत्रकारिता नै मिसन अफ जर्नालिजम हो ।

विसं १९०३ देखि २००७ सालसम्मको समयमा राणाहरूले नेपालमा पारिवारिक शासन गरे । त्यस समयमा राणा भाइ–भाइहरूमा प्रधानमन्त्रीको पद सार्दै जाने प्रचलन थियो । देशका मुख्य शक्तिशाली पदमा राणा परिवारको हुकुमी शासन थियो । त्यसबेला देश राणाको इसारामा चल्थ्यो, राणाले जे भन्थे त्यही हुन्थ्यो । आर्थिक, सामाजिक, शैक्षिकलगायत सम्पूर्ण क्षेत्रमा अरूलाई कडा बन्देज थियो ।

त्यस समयमा जंगबहादुरको नाम निकै चर्चामा थियो । त्यसपछि २००७ सालमा राणा शासनको अन्त्य भयो र प्रजातन्त्रको स्थापना भयो । राणाले गर्दै आएको हुकुमी शासन अन्त्य भयो । जनताले राहतको महसुस गरे । राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिकलगायतका क्षेत्रमा सहजता आयो । तर, प्रजातन्त्र लामो समय टिकेन ।

२०१७ साल पुस १ गते पञ्चायती व्यवस्थाको स्थापना भयो । विसं २०१५ सालमा भएको संसदीय चुनावबाट निर्वाचित सरकारलाई २०१७ साल पुस १ गते दिनदहाडै तत्कालीन राजा महेन्द्रबाट अपदस्थ गरियो । पञ्चायती शासन स्थापना गरेपछि राजनीतिक दल प्रतिबन्ध गरिए भने जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, उनका मन्त्रिमण्डलका सदस्य, सांसद, राजनीतिक दलका नेता र कार्यकर्तालाई रातारात पक्राउ गरेर जेल हालियो ।

राजनीतिक दलका नेताहरू राजकाज, राज्यद्रोहलगायतका मुद्दामा लामो समय जेल बसे । पञ्चायतले पक्राउ गर्न नसकेका राजनीतिक दलका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भारतका बनारसलगायत विभिन्न सहरमा निर्वासित भए ।

बीपी कोइरालाले आफ्नो निर्वासित जीवनको अधिकांश समय वनारसमै व्यतित गरे । यसै समय वनारसमै रहेर नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, मोहनविक्रम सिंह, प्रदीप गिरी, मोदनाथ प्रश्रितलगायत अन्य प्रजातान्त्रिक योद्धाहरूले नेपालको प्रजातन्त्र प्राप्तिको लडाइँ प्रवासमै रहेर पनि जारी राखे ।

नेपालको सन्दर्भमा पञ्चायतविरुद्ध पत्रकारले गरेको विद्रोहबाट ‘मिसन पत्रकारिता’ प्रारम्भ भएको हो । मिसन पत्रकारिताको मूल ध्येय जनपक्षीय मुद्दामा कलम चलाउनु हो । यस सन्दर्भमा ‘दृष्टि सप्ताहिक’ले चार दशकयता आफ्नो जिम्मेवारी बिर्सेको छैन ।

पञ्चायतको स्थापना भएको दुई–तीन वर्षमै देशभरि पञ्चायतको जगजगी फैलियो । पञ्चायतलाई बलियो बनाउने गरी राजालाई सर्वाधिकार सम्पन्न व्यवस्थासहित २०१९ सालमा पञ्चायती संविधान लागू भयो ।

त्यस समय पञ्चायती शासन व्यवस्थाका मान्छेहरूले भन्ने गर्दथे– ‘सबै नेपाली पञ्च, सबै पञ्च नेपाली ।’ उनीहरूले पञ्चायती व्यवस्था र नेपाललाई एक–अर्काका पूरकको रूपमा प्रचार गर्ने गर्दथे । पञ्चायत नरहे देशै रहँदैन भनेर प्रचार गरिएको थियो । कांग्रेस र कम्युनिस्ट पार्टीलाई अराष्ट्रिय तत्व घोषणा गरिएको थियो ।

तर, २०१८ सालको क्रान्ति, २०३३ सालको बीपीको मेलमिलाप नीति, २०३६ सालको विद्यार्थी आन्दोलन आदिको दबाबका कारण २०३६ सालमा तत्कालीन राजा वीरेन्द्रले नेपालमा जनमत संग्रह गराए । बहुदल वा सुधारिएको पञ्चायत कुन रोज्ने ? भनी गराइएको जनमत संग्रहमा राज्य शक्तिको चरम दुरूपयोग गरी पञ्चायत पक्षलाई जिताइए पनि बीपीले प्रजातान्त्रिक प्रक्रियाको थालनी भएको भनेर त्यसलाई स्वीकार गरे ।

त्यसपछि पनि देशमा बहुदलीय व्यवस्था स्थापना हुन नसकेपछि २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह सुरु गर्यो । र, विसं २०४६ मा नेपालको प्रथम जनआन्दोलन भयो । ५० दिने सो आन्दोलनमा पञ्चायती शासकहरूले निकै दमन गरेका थिए । नेपालका विभिन्न दलहरू एकै उद्देश्य लिएर जनआन्दोलनमा होमिए ।

नेपाली कांग्रेसको नेतृत्वमा विभिन्न कम्युनिष्टको समूह संयुक्त वाम मोर्चा बनाएर आन्दोलनमा होमिएका थिए । अन्ततः यो कदम २०४६ मा जनआन्दोलनमा परिणत भयो र विसं २०४६ चैत २६ गते नेपालमा पञ्चायती शासन व्यवस्थाको अन्त भएर बहुदलीय शासन व्यवस्था प्रारम्भ भयो । र, यस आन्दोलनको रापमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई राजा वीरेन्द्रले प्रधानमन्त्री नियुक्त गरे ।

सुरुमा राजा वीरेन्द्रले गणेशमान सिंहलाई प्रधानमन्त्री बन्न भनेका थिए । तर, गणेशमानले आफू प्रधानमन्त्री नबन्ने भनेपछि सिंहले राजासमक्ष कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउन सुझाएका थिए । त्यसपछि वीरेन्द्रले भट्टराईलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

२०४७ कात्तिक २३ गते नेपालको नयाँ संविधान जारी भयो । र, नेपालको अन्तरिम संविधान २०६३ लागू भएपछि उक्त संविधान खारेज भएको हो । हाल देशमा संविधानसभाबाट निर्मित नेपालको संविधान छ ।

नेपालमा विभिन्न कालखण्डमा सत्तापक्षले आफ्ना विरोधीहरूको दमन गर्दै आएको इतिहास छ । चाहे त्यो राणाकालमा शुक्रराज शास्त्रीलाई धार्मिक प्रवचन दिएवापत फासी दिइएको होस् वा सुब्बा कृष्णप्रसाद अधिकारीलाई ‘मकैको पर्व’ लेखेवापत जेलमा सडाएर मारिएको होस् । यसरी नेपालमा विभिन्न कालखण्डमा समयअनुसार आजको भाषामा मिसन पत्रकारिता हुँदै आएको मान्न सकिन्छ ।

नेपालको पछिल्लो कालखण्डमा मिसन पत्रकारिता मौलाएको हो । समीक्षा, मातृभूमि, राष्ट्रपुकार, पुनर्जागरण, जनादेश (सम्पादक क्रमशः मदनमणि दीक्षित, गोविन्द वियोगी, माथवरसिंह बस्नेत, होमनाथ दाहाल र शक्ति लम्साल) आदिले आमजनताबीच सूचना सम्प्रेषण गरेर प्रजातन्त्र, लोकतन्त्रको अलख जगाउने काम गरेकै हुन् । तर, यी कुनै साप्ताहिकले निरन्तरता दिन सकेनन् । यस मानेमा शम्भु श्रेष्ठको सम्पादनमा ‘दृष्टि’ ४० वर्षदेखि अनेक हण्डर खाएर पनि मिसन पत्रकारितामा जनताप्रति समर्पित छ ।

वास्तवमा मिसन पत्रकारिता भनेको जनताको आवाजलाई पाठकसमक्ष पुर्याउनु हो । सत्ताले गरेको गलत कर्मलाई आम जनतासमक्ष ल्याएर उनीहरूलाई सजग गराउनु हो । त्यसकारण मिसन पत्रकारिताको महत्व कुनै पनि कालखण्डमा घटी वा बढी हुँदैन । यस मानेमा दृष्टिले पाठकप्रति न्याय गरिनै रहेको छ । र, गरिरहनुपर्छ पनि ।

प्रतिक्रिया दिनुहोस्