Logo
Logo

थप २० देखि २५ हजार मत पाए एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्ने



काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरेर बनेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्छ या बन्दै ? भन्ने आम चासोको विषय बनेको छ ।

प्रत्यक्षतर्फ मतगणना सम्पन्न भएर समानुपातिकतर्फको गणना पनि अन्तिम चरणमा पुगेकाले एकीकृत समावादी राष्ट्रिय पार्टी हुने या नहुने मतगणना हुन बाँकी क्षेत्रको मतमा निर्भर हुने भएको छ ।

कुनै पनि दलले प्रत्यक्षतर्फ जति नै धेरै सिट जिते पनि समानुपातिकतर्फ खसेको र त्यसको पनि सदर मतको ३ प्रतिशत मत पाउनुनै पर्ने हुन्छ ।

हालसम्मको सदर मत ९९ लाख ३४ हजार ७३६ हो । र, एकीकृत समाजवादीले हालसम्म २ लाख ८० हजार २०० मत मात्र पाएको छ । यो कुल सदर मतको २.८२ प्रतिशत हो ।

समानुपातिक तर्फको अहिलेसम्मको सदर मतलाई आधार मान्ने हो भने एक करोडको भन्दा केही लाख धेरै मत सदर हुने देखिन्छ । यस्तो अवस्थामा एकीकृत समाजवादीले राष्ट्रिय पार्टी बन्न तीन लाख भन्दा केही हजार धेरै मत पाउनुपर्ने हुन्छ । यस आधारमा एकीकृत समाजवादीले राष्ट्रिय पार्टी बन्न थप २० देखि २५ हजार मत पाउनुपर्ने हुन्छ ।

अहिलेसम्म उदयपुर–१, सुनसरीको ३ र ४ र धनुषामा समानूपातिकतर्फको मतगणना जारी छ । तर, यी क्षेत्रमा पनि अन्तिम चरणमा पुगेको छ । यहाँ गणना हुन बाँकी रहेको १० देखि १५ हजार मत मात्र हो । यस आधारमा यस क्षेत्रका एकीकृत समाजवादीले जारी मतगणनाबाट राष्ट्रिय पार्टी बन्न पुग्दो मत पाउने छैन ।

एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्ने या नबन्ने विषय मतदान हुन र गणना हुन बाँकी क्षेत्रको मतमा निर्भर हुने छ ।
स्याङजा–२ र बाजुरामा मतदान भइसके पनि गणना रोकिएको छ । दोलखाका केही मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ ।

दोलखामा १ लाख ६१ हजार, बाजुरामा ८२ हजार ५६७ र स्याङजा–२ मा १ लाख १६ हजार कुल मतदाता छन् । त्यसैगरी, सप्तरी–३ र ४ पनि बाँकी छ । यहाँ कम्तिमा २ लाख मत खसेको छ । यी क्षेत्रबाट २० देखि २५ हजार मत पाए एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्ने छ ।

प्रतिक्रिया दिनुहोस्