Logo
Logo

भाग्न थाले उत्तरकोरियन


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, २४ भदौ । दरबारमार्गको याक एण्ड यती होटलको छेउमा एउटा रहस्यमय रेष्टुरेन्ट छ । उत्तर कोरियाका युवतीहरुले सञ्चालन गर्दै आएको प्योङयाङ अरिराङ नामक रेष्टुरेन्ट काठमाडौंका अन्य रेस्टुरेन्टभन्दा फरक छ । बसेको समयको आधारमा पैसा तिर्नुपर्नेलगायतको कारण यो रेस्टुरेन्टको निकै चर्चा हुने गरेको थियो ।

सोही रेष्टुरेन्ट केही दिनयता सुनसान छ । सञ्चालकहरु रेस्टुरेन्ट बिक्री गरेर आफ्नो देश फर्कने तयारीमा छन् । रेस्टुरेन्ट नचलेर बन्द गर्न लागिएको होइन । नेपाल सरकारले नै सो रेस्टुरेन्ट बन्द गर्न लगाएको हो । संयुक्त राष्ट्रसंघ तथा विभिन्न पश्चिमी देशको दबाबपछि नेपालले दरबारमार्गको रेस्टुरेन्टसहित सबै उत्तर कोरियाली नागरिकहरुको व्यवसाय बन्द गर्न लागेको छ । सोही कारण उत्तर कोरियनहरु नेपालबाट फर्कन थालेका छन् ।

तनहुँमा उनीहरुले खोलेको अस्पतालसमेत बन्द गराइएको छ । अन्य रेस्टुरेन्ट तथा आइटी कम्पनी बन्द गराउन लागिएको स्रोत बताउँछ । अध्यागमन विभागले समेत उनीहरुलाई बिजनेश भिसाको म्याद नथप्ने जानकारी गराइसकेको छ ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियाली नागरिकले सञ्चालन गरेका सबै व्यापार–व्यवसाय बन्द गर्न नेपाललाई गत वर्ष नै निर्देशन दिएको थियो । राष्ट्रसंघमातहत गठित निकाय ‘कोअर्डिनेटर अफ युनाइटेड नेसन्स सेक्युरिटी काउन्सिल प्यानल अफ एक्स्पर्ट’ले यस्तो निर्देशन दिएको थियो । राष्ट्रसंघले आफ्नो परिपत्र बाध्यकारी रूपमा लागू गर्न पनि नेपाललाई सचेत गराएको थियो । आणविक हतियार निर्माणमा राष्ट्रसंघको निर्देशन पालना नगरेपछि उत्तर कोरियालाई यसरी प्रतिबन्ध लगाइएको हो ।

कट्टर कम्युनिष्ट र निरकुंश शासकले चलाउँदै आएको उत्तर कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध भने ५० वर्षअघिदेखि नै बलियो छ । सन् १९७४ मै दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भई त्यही वर्ष उत्तर कोरियाले नेपालमा दूतावास स्थापना गरेको थियो । नेपालमा उसका नागरिकले सञ्चालन गर्ने व्यवसायका आवरण सुराकी हुने गरेको चर्चा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्