काठमाडौं । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘महाअभियोग निष्प्रभावी’ भएको पत्र पठाउने संसदका महासचिव भरतराज गौतमलाई अदालतको अवहेलनमा मुद्दा चलाउनुपर्ने बताएका छन् ।
गौतमले न्यायिक प्रक्रियामा अवरोध पु¥याएको भन्दै बरिष्ठ अधिवक्ता कार्कीले शुक्रबार पत्रमाथिको रिट निवेदनमा बहस गर्दै निलम्बित प्रधानन्यायाधीश जबराले संस्थाको सम्मानलाई धुलोमा पु¥याएको समेत बताए ।

उनले भने, ‘यो पत्र लेख्ने र त्यसो गर्न निवेदन दिने दुवैलाई संसद्ले कारबाही गर्न सक्छ । यो हाइएस्ट लेभल अफ अब्स्ट्रक्सन अफ जस्टिस हो ।’ उनले गौतम र राणाले न्यायिक प्रणालीमा बाधा पु¥याएको उल्लेख गर्दै सिधै अवहेलनामा कारबाही गर्नुपर्ने बताए ।
वरिष्ठ अधिवक्ता कार्कीले महाभियोगमा बयान दिन गएका जबराले उल्टै बारलाई आरोपित गर्दा संसद् चुप लागेर बसेकोमा समेत आपत्ति जनाए । ‘महाभियोगमा बयान दिन गएको व्यक्तिले बयान होइन भाषण दिएको छ’ उनले भने, ‘यो अभियोग तपाईंहरूले होइन बारले लेखेको भन्छ ? सांसद शीर निहुराएर बस्छन् ।’
महासचिव गौतमले संसद्को क्षेत्राधिकारमाथि हस्तक्षेप गर्ने अधिकार नभएको भन्दै अहिलेको कमदले खुल्लमखुला संसद्को खिल्ली उडाएको उनको भनाइ छ ।
सर्वोच्च बारका अध्यक्ष शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष विनोदकुमार कार्की तथा सदस्यहरु विकास भट्टराई, अनन्तराज लुइँटेल, दीपनारायण साह, अमिता गौतम र रामहरि त्रिपाठीले बुधबार उक्त माग राख्दै रिट दायर गरेका थिए । सर्वोच्च अदालतले उक्त विवादको सुनुवाइका लागि संवैधानिक इजलासमा पेसी तोकेको हो ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका छन् ।














