Logo
Logo

यसरी तुहिन सक्छ फेरि प्रधानमन्त्री बन्ने देउवाको चाहना


10.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको फेरि प्रधानमन्त्री हुने चाहना सम्भवतः अब तुहिँने अवस्थामा पुगेको छ । यसअघि गठबन्धनबीच भएको भद्र सहमति पालना नगरि पहिलो सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने अडान कसेपछि वर्तमान सत्ता गबन्धन टुट्ने अवस्थामा पुगेको हाे ।

आइतबार बसेको गठबन्धन बैठकमा देउवाले आफ्नो अडान दोहोरयाएपछि नेताहरु वालकोटतिर ढल्किएका छन् । अहिले वालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा चार दलको बैठक जारी छ । बैठकमा ओलीसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलगायतका नेताहरु बैठकमा सहभागी छन् ।

सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिन केही घण्टामात्र बाँकी रहेको अवस्थामा कांग्रेसबाहेकका दलहरु छलफलमा जुटेका हुन् । राष्ट्रपतिले दिएको समय आज ५ बजे अपरान्ह सकिँदैछ । त्यसअघि नै नयाँ समीकरण बनाएर सरकार गठन गर्ने तयारी एमाले, माओवादीलगायतका चार दल जुटेका हुन् ।

१६५ सांसदको प्रतिनिधिसभामा सरकार गठन गर्नका लागि १३८ सांसद आवश्यक पर्छ । एमालेले आफ्नो नेतृत्वमा सरकार गठन गर्न माओवादी केन्द्र, रास्वपा र राप्रपाको समर्थन भएका पुग्छ ।

नेकपा एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, रास्वपाका २० र राप्रपासँग १४ गरी १४४ मत रहेको छ । यो संख्या सरकार गठनका लागि बहुमत हो । यदि एमालेको नेतृत्वमा सरकार गठन भएको खण्डमा देउवाको पुनः प्रधानमन्त्री बन्ने चाहना तुहिने छ ।

प्रधानमन्त्री देउवाले जसरी पनि प्रधानमन्त्री बन्ने चाहना गरेकै कारण गठबन्धन टुट्ने अवस्थामा पुगेको हो । आइतबार बसेको गठबन्धन बैठकमा देउवाकै कारण वर्तमान गठबन्धन टुटेको नेताहरुले बताइसकेका छन् । माओवादी अध्यक्ष प्रचण्डलगायतले वर्तमान गठबन्धनको औचित्य सकिएको भन्दै बालुवाटारबाट निस्केर वालकोट पुगेका हुन् ।

वर्तमान गठबन्धनलाई निरन्तरता दिन माओवादी, एकीकृत समाजवादीले सकेसम्म पहल गरेका थिए । त्यसका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकार गठनका लागि राष्ट्रपतिसँग समय थपका लागि माग गर्न समेत आग्रह गरेका थिए । उक्त मागसमेत देउवाले नसुनेपछि गठबन्धन टुट्ने अवस्थामा पुगेको हो ।

गठबन्धनले तोकेको समयमा प्रधानमन्त्रीको दावी पेश गर्न नसकेको अवस्थामा राष्ट्रपतिले सांसदमा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा देउवालाई नै प्रधानमन्त्री तोक्ने अवस्था आउनन्थ्यो । त्यसैले पनि देउवा आफू जसरी पनि प्रधानमन्त्री बन्नेमा ढुक्क थिए ।

अहिले राष्ट्रपतिले आह्वान गरेको धारा ७६ (२) अनुसारको सरकार निर्माण हो, जसमा प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्ने प्रतिनिधि सभाको सदस्य प्रधानमन्त्री हुने व्यवस्था छ ।

संविधानतः सबैभन्दा ठूलो दलको हैसियतमा देउवालाई प्रधानमन्त्री बनाउने गरी राष्ट्रपतिले यस्तो कदम चालेको खण्डमा पनि गठबन्धन टुट्ने स्थिति आउँन्थ्यो ।

माओवादी केन्द्रसँगको गठबन्धन टुटेको खण्डमा देउवा ७७ (३)अनुसार प्रधानमन्त्री बन्ने थिए । तर, अब त्यो सम्भवना समेत अब नरहने अवस्था देखिएको छ । त्यसैले जसरी पनि प्रधानमन्त्री बन्ने देउवाको चाहना तुहिने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्