Logo
Logo

नेकपामा अर्का पाइलटको सक्रियता


- दृष्टि न्युज/संवाददाता


तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भई नेपाल कम्युनिष्ट पार्टी घोषणा गर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘जसरी जेट विमानमा दुईजना पाइलट हुन्छन् । त्यसैगरी एकीकृत पार्टीमा दुईजना अध्यक्ष रहनेछन् । दुईजना पाइलट रहने जेट दुर्घटनामा नपरेजस्तै हाम्रो पार्टी पनि दुर्घटनामा पर्दैन ।’ तर, पार्टी एकताको लामो समयसम्म नेकपा एकजना अध्यक्षको भरमा चरिरह्यो । पार्टीमा अर्का पनि अध्यक्ष छन् भन्ने आभाष व्यवहारतः देखिएन । पछिल्लो समय भने स्थिति फेरिएको छ । नेकपाका अर्का पाइलट अर्थात अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले निकै सक्रिय भइरहेका छन् ।

सिंगापुरमा थप उपचारका लागि जानुअघि ओलीले प्रचण्डलाई बैठक राख्न र पार्टी एकताका बाँकी काम टुंग्याउन बाटो खोलिदिएका थिए । लगत्तै प्रचण्डको अध्यक्षमा पार्टी केन्द्रीय कार्यालयमा सचिवालयको बैठक बस्यो । सरकारको नेतृत्व गरिरहेको तथा हजारौँ नेता र लाखौँ कार्यकर्ता भएको पार्टी भएर पनि नेकपाको मुख्यालय सधैँ सुनसान देखिन्थ्यो । पार्टी कार्यालयमा बैठकहरू छाडेका थिए भने नेता–कार्यकर्ता जान पनि छाडेका थिए । तर, प्रचण्डले आफ्नो अध्यक्षताको पहिलो बैठक पार्टी मुख्यालयमै राखे । साथै, उनले हरेक बैठक आफूले पार्टी कार्यालयमै राख्नेसमेत बताए । सो बैठकले विभिन्न विभागका जिम्मेवारी बाँडफाँट र अनुशासनसम्बन्धी केही महत्वपूर्ण निर्णय लिएको थियो । त्यसबेलादेखि सक्रिय बनेका प्रचण्डको सक्रियता अझै उस्तै छ ।

प्रधानमन्त्री ओली उपचारपछि स्वदेश फर्किएर सरकार सञ्चालनमा जुटिसकेका छन् भने प्रचण्ड जिल्ला जिल्लामा भइरहेका पार्टीका साना–ठूला कार्यक्रममा सहभागी भएर कार्यकर्तालाई उत्साह थपिरहेका छन् । हालै उनी पार्टीका वरिष्ठ नेताहरू झलनाथ खनाल र सुवास नेम्बाङ सम्मिलित टोलीको नेतृत्व गर्दै इलाम पुगे । खनाल र नेम्बाङको गृहजिल्ला इलामबाट प्रचण्डले पार्टीको नेतृत्वमा आफूलाई सहज ढंगले स्वीकार गर्न आग्रह पनि गरे । तत्कालीन नेकपाका महासचिव जननेता मदन भण्डारीको चर्चा गर्दै उनले गुट त्यागेर पार्टी बनाउनुपर्ने धारणा राखे । सोही कार्यक्रममार्फत् उनले ओली नेतृत्वकै सरकारले पाँच वर्षसम्म काम गर्नेसमेत बताए ।

प्रचण्डको पार्टी नेतृत्वमा देखिएको सक्रियताले कार्यकर्ता तहमा कस्तो सन्देश जाने हो, कार्यकर्तामा उत्साह जगाउन सक्ने हो या होइन, त्यो हेर्न केही समय कुर्नैपर्ने हुन्छ, तर शारीरिक रूपमा पूर्ण स्वस्थ नभइसकेका प्रधानमन्त्रीलाई भने राम्रो विश्रामको मौका दिनेछ । हुन पनि पार्टीका दुई अध्यक्षमध्ये एकले आफ्नो सम्पूर्ण ध्यान सरकार सञ्चालनमा लगाएर सरकारको गतिलाई तीब्रता दिनु र अर्का अध्यक्षले पार्टी सञ्चालनको बागडोर सम्हालेर पार्टीभित्र नयाँ ऊर्जा प्रदान गर्न क्रियाशीलता देखाउनुमै नेकपाको भलाई देखिन्छ । दुई फरक फरक विचारधारा बोकेर आएका तथा लामो समय बेग्लाबेग्लै पार्टीमा रहेका कार्यकर्ताबीच अन्तरघुलनको अवसर पैदा गर्न पनि प्रचण्डको यो सक्रियता फलदायी हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्