काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको बताएका छन् ।

पार्टीको सुदूरपश्चिम प्रदेशले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा निर्वाचित नेतालाई बधाई तथा शुभकामना दिन आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनका केही नेताको असमझदारीका कारण राजनीतिमा एकाएक परिवर्तन आएको बताए ।
राजनीतिमा परिवर्तन आएको भएपनि आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै उहाँले आफ्नो पार्टीको राष्ट्रिय राजनीतिमा सक्रिय हस्तक्षेपको खाँचो औँल्याए । ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पार्टी सङ्गठनलाई देशभर विस्तार गरी नयाँ आधार तय गर्न सबै तह तप्काका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै जनताको सेवालाई केन्द्रमा राखेर राजनीति गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
राजनीतिमा देश र जनताको सेवा महत्त्वपूर्ण हुने हुँदा आत्तिन र मात्तिन नहुने भन्दै उनले यस क्षेत्रमा विश्वास र विश्वसनीयता कायम राखेर अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे । उनले पार्टीका तर्फबाट जननिर्वाचित भएका नेतालाई जनअपेक्षित काम गरी जनजनमा पुग्न सुझाव दिए ।














