काठमाडौं । सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)को पूर्ण कार्यान्वयन तत्कालका लागि स्थगित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमडीएमएस प्रणाली कार्यान्वयन नगर्न निर्देशन दिएपछि तत्कालका लागि स्थगित गरिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले पुष १५ गते शुक्रबारदेखि पूर्णरुपमा एमडीएमएस प्रणाली लागू गर्ने योजना बनाएको थियो । नेपालको भन्सार कार्यालयमा दर्ता नभएका मोबाइल चलाउन नपाउने गरी एमडीएमएस प्रणाली लागू हुन लागेपछि यसको व्यापक विरोध भएको थियो ।
विदेशबाट फर्किने नेपालीले ल्याउने मोबाइलको व्यवस्थाबारे अन्योल भएपछि मोबाइल दर्ता गर्नैपर्ने व्यवस्थालाई तत्कालका लागि स्थगित गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।
चौतर्फी विरोध भएपछि सरकारले विदेशबाट उपहारमा मोबाइल ल्याउँदा भन्सार विन्दुमा प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था पनि तत्कालका लागि स्थगित गरेको छ । भन्सार विभागले विमानस्थल भन्सार कार्यालयलाई आजबाट जारी गर्ने भनिएको त्यस्ता प्रज्ञापनपत्र जारी नगर्न निर्देशन दिइसकेको छ ।












