
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन जाँदै छन् ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड प्रधानमन्त्री भएपछि राजधानी बाहिरको पहिलो सार्वजनिक कार्यक्रममा सहभागी चितवन जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले भरतपुर वडा नं. १० मा रहेको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहको उदघाटन गर्नेछन् ।
शनिबार बिहान ८:२० बजे उनी चितवन जाने कार्यक्रम तय भए पनि प्रतिकुल मौसमका कारण केही ढिला गरी चितवन आइपुग्ने चितवन प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्रीले विहान ११ बजे हिरक महोत्सवको उदघाटन गर्ने कार्यक्रम छ । सो अवसरमा स्वर्ण र हीरक स्तम्भ अनावरण, भवन सिलान्यास, हीरकद्वार उदघाटन, हीरक स्मारिका विमोचन लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले जनाएको छ ।












