Logo
Logo

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र प्रचण्डको सम्बन्ध

पहिलो र दोश्रो पटक प्रधानमन्त्री हुँदा पोखरा विमानस्थलका बारेमा चीनसँग औपचारिक कुराकानी भएको थियो


2.3k
Shares

पोखरा । पोखराबासीले वर्षौंदेखि साँचेको सपना थियो– पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल । यही सपनालाई विपनामा रुपान्तरण गर्ने भूमिका खेलेका थिए– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ।

प्रचण्ड पहिलो र दोश्रो पटक प्रधानमन्त्री बन्दा पोखरा विमानस्थलका बारेमा चीनसँग औपचारिक कुराकानी भएको थियो । पोखरा विमानस्थल निर्माण गर्न सकेमा यसले नेपालको अर्थतन्त्र र सामाजिक जीवनमा नै उल्लेख्य असर पर्ने कुरा सोचेर चीनसँग निर्माणका लागि सहयोग खोजेका थिए, प्रचण्डले ।

संयोग नै भनौं, आज प्रधानमन्त्री प्रचण्डले नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरे । मन्तव्यका क्रममा उनले भने, ‘आजको जमाना कनेक्टिभिटीको जमाना हो । त्यसमध्ये पनि हवाइमार्गको नेटवर्क सबैभन्दा मुख्य हो । यस विमानस्थलले पोखरा र गण्डकीका लागि मात्र नभएर देशकै विकास र समृद्धिको सपनामा महत्वपूर्ण योगदान गर्दछ ।’

यही सपना विपनामा रुपान्तरण भएको ठानेर होला, विमानस्थल उद्घाटनको अवसरमा हजारौं पोखरेली झुम्मिए । गरपालिकाले त बिदा नै दियो पनि । पोखराबासीको विमानस्थलप्रतिको अपनत्व देखेर जो कोही खुसीले द्रवित नभई रहन सक्दैनथे ।

त्यसो त पर्यटकीय शहर पोखराको चौतर्फी विकास गर्ने हेतुले २०३२ सालमा विमानस्थलका परिकल्पना गरिएको थियो । तर नेपालको राजनीतिक परिस्थिति, भू–राजनीतिक अवस्थिति र कतिपय अन्य कारणले गर्दा यो परियोजनाले मूर्तरुप भने लिन सकेको थिएन ।

उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले चीनलाई समेत धन्यवाद दिए । ‘चीनका नाकाहरू खुल्न थालेका छन्, यसका निम्ति चीन सरकारलाई धन्यवाद दिन चाहन्छु’, प्रधानमन्त्रीले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सहयोग गर्ने सबै सबैप्रति विशेष आभार व्यक्त गर्दछु ।’

प्रचण्डले पोखरावासी जनताको संकल्पको पनि खुलेरै प्रशंसा गरे । उनले भने, ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तपाईहरूले जुन संकल्प गर्नुभयो, जुन जागरण ल्याउनु भयो । प्रधानमन्त्री भएको एक हप्तामा नै यो विमानस्थल उद्घाटन गर्न पाउनु मेरा लागि गौरवको विषय हो ।’

सामाजिक न्याय, समृद्धि र सुशासनको संकल्प सरकारले गरेको बताउँदै प्रचण्डले आफ्नो तेश्रो कार्यकाललाई नेपाली समाज रुपान्तरणको निर्णायक कालखण्ड बनाउने आशयको कुरा समेत गरे। ‘मेरो तेस्रो कार्यकाल यसकै निम्ति खर्चिनेछु’ उनको भनाई थियो ।

अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहमा उपप्रधान एवं अर्थमन्त्री पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, पोखरा महानगरका मेयर धनराज आचार्य, विमानस्थल निर्माणकर्ता चिनियाँ कम्पनीका अधिकारीहरूले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्