
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले महाधिवेशन अघिकै विभाग ब्युँताएर गतिविधि सुरु गरेका छन् ।
माओवादी केन्द्रको आठौं महाधिवेशन अघिसम्म उनी संगठन विभाग प्रमुख थिए । उनले महाधिवेशनपछि पनि सोही विभाग ब्युँताएका हुन् ।
महाधिवेशनसँगै विघटन भइसकेको विभाग ब्युँताएका शर्माले आइतबार पार्टी कार्यालयमा विभागको बैठक समेत राखेका छन् । बैठकले आगामी बैठकको एजेन्डासमेत तय गरेको बताइएको छ ।
शर्माले अर्को बैठक पुस २१ गतेका लागि बोलाएका छन् । उक्त बैठकमा आजको बैठकले तय गरेको एजेण्डामाथि छलफल गर्ने बताइएको छ ।
महाधिवेशन सम्पन्न भएसँगै पुराना विभागहरू स्वत विघटन भएको भए पनि शर्माले भने पुरानै विभाग ब्युँताएका हुन् । महाधिवेशनपछि माओवादीले सबै विभागहरू गठन गर्न बाँकी नै छ ।
शर्मा महासचिवका दाबेदार थिए । तर, महासचिवको जिम्मेवारी देव गुरुङले पाएपछि उनी पार्टीको निर्णयप्रति रुष्ट छन् । सार्वजनिक कार्यक्रमबाटै अध्यक्ष प्रचण्डको विरोध गरिरहेका शर्माले पार्टीसँग छलफल नै नगरी पुरानो विभाग ब्युँताएका हुन् ।












