
काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनपछि मात्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने भएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा संघीय संसद्का सदस्यहरू मतदाता हुने भएकाले राष्ट्रियसभाका सदस्यको उपनिर्वाचनपछि मात्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने भएको हो ।
हाल संघीय संसद् अन्तरगत नेकपा एमालेबाट राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईको पद रिक्त रहेको छ । उनले राजीनामा दिएसँगै राष्ट्रियसभामा एक पद रिक्त भएको हो ।
राष्ट्रियसभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर जानकारी गराएका छन् । प्रधानमन्त्रीले तत्काल उपनिर्वाचनको तयारी थाल्न आयोगलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीको निर्देशनसँगै निर्वाचन आयोगले माघ महिनाभित्रै राष्ट्रियसभा सदस्यको उपनिर्वाचन गर्ने तयारी गरेको छ । यसरी हेर्दा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन माघ अन्तिम वा फागुन पहिलो साता मात्र हुने देखिन्छ ।












