Logo
Logo

 अशोक राईलाई जसपा फुटाउन दबाब !


81.4k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष अशोक राईलाई आफू पक्षीय नेताहरूले नयाँ पार्टी गठन गर्न दबाब दिन थालेका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवले रामसहायप्रसाद यादवलाई संसदीय दलको नेता बनाएसँगै अशोक पक्ष असन्तुष्ट बनेको हो । 

दलको नेता चयनका लागि गत बुधबार निर्वाचन गर्ने जसपाको तयारी थियो । तर, निर्वाचन नै नगराई अध्यक्ष यादवले रामसहायलाई दलको नेता बनाएका थिए । अध्यक्ष यादवले वरिष्ठतमको आधारमा नभइ आफू निकटलाई दलको नेता बनाएपछि अशोक पक्ष असन्तुष्ट बनेको हो । 

वरिष्ठतमको आधारमा अशोकलाई दलको नेता बनाउनुपर्ने जसपाभित्र माग थियो । तर, अध्यक्ष यादवसँगको तिक्ततापूर्ण सम्बन्धका कारण उनी दलको नेता बन्न सकेनन् । यादवले आफ्ना विश्वासपात्र रामसहायलाई दलको नेता बनाए । 

अशोक दलको नेता बनेर सरकारमा पार्टीको नेतृत्व गर्न चाहन्थे । तर उपेन्द्रले उनको चाहना पूरा हुन दिएनन् । यो घटनाले जसपा फुटाएर नयाँ दल गठन गर्न अशोकलाई उनी पक्षीय नेताहरूले दबाब दिन थालेका हुन् ।

आफ्नो शक्ति टिकाइराख्न उपेन्द्रले मधेसको जातीय समीकरणमा खेलको अशोक पक्षीय नेताहरू बताउँछन् । उपेन्द्रले पार्टीलाई ‘यादवको पार्टी’ बनाएको उनीहरूको आरोप छ । जसपाभित्र सृजना भएको वर्तमान राजनीतिक घटनाक्रम अस्वीकार्य हुने अशोक पक्षीय एक नेता बताउँछन् । उपेन्द्रको हस्तक्षेपविरुद्ध विद्रोह नगर्नु भनेको दासत्व स्वीकार गर्नु भएको ती नेता बताउँछन् । 

पार्टी एकतादेखि नै मधेसको पेलानमा पर्दै आएका अशोकलाई जसपाबाट बाहिरिन उनी निकट नेताहरूले दबाब दिन थालेका छन् । केहीले अंग्रेजी नयाँ वर्षसँगै नयाँ पार्टी बनाउनु पर्ने समेत अशोकलाई सुझाव दिएका थिए । तर, अशोकले ‘यति हतार गर्नु नहुने’ भन्दै थमथम्याएका थिए । 

मंसिर ४ गतेको निर्वाचनमा एमालेसँग सहकार्य गरेको जसपामा अब सहकार्य अघि बढाउने कि तोड्ने भन्नेमा पनि दुई मत छ । निर्वाचनको मतपरिणाम आएपछि उपेन्द्रले एमालेसँगको सहकार्यको औचित्य समाप्त भएको अभिव्यक्ति दिँदै आएका छन् ।

तर, अशोकले भने एमालेसँग नै मिलेर अघि बढ्नुपर्ने पक्षमा अडान राख्दै आएका छन् । उपेन्द्र एमालेले निर्वाचनमा धोका दिएको निष्कर्षमा पुग्दा अशोक भने एमालेले तालमेलमा इमानदारीपूर्वक भूमिका निर्वाह गरेको भनिरहेका छन् ।

यसरी उपेन्द्र र अशोकबीच टकराब उत्पन्न हुँदा जसपामा विभाजन हुने खतरा बढेको छ । यस पटकको संसदमा २–४ सांसदको समेत ठूलो महत्व हुने भएकाले जसपा जस्ता साना दल त्यसको सिकार बन्ने सम्भावना धेरै रहन्छ ।

यता, आमनिर्वाचन २०७९ मा दोस्रो पार्टी बनेको नेकपा एमाले संसद्मा अब कम्युनिष्ट एकतासहित पहिलो पार्टी बन्ने दाउमा लागेको छ । त्यसको लागि एमालेले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई एमालेमा समाहित गर्ने गरी आन्तरिक रुपमा छलफल अघि बढाएको छ । एकीकृत समाजवादीभित्र पनि एमालेसँग एकता गरेर जानुपर्नेमा पक्षमा केही नेता उभिएका छन् । 

अहिले एमालेसँग ७८ सांसद छन् । उता पहिलो दल बनेको कांग्रेसले ८९ सिट जितेको छ । एमालेको कांग्रेसको भन्दा ११ सिट कम छ । एकीकृत समाजवादीसँग १० सिट छ । त्यो सांसद संख्या थप्दा एमालेको ८८ सिट पुग्छ ।

यता, जसपाका अशोक पक्षमा पाँच जना सांसद छन् । पाँच जना थपिँदा ९३ सिट हुन्छ । त्यसैले अशोकलाई एमालेमै फर्काउने प्रयास भइरहेको पनि स्रोत बताउँछ । 

प्रतिक्रिया दिनुहोस्