
काठमाडौं । शुक्रबार रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको अन्तिम बहस थियो । तर, शुक्रबार नै फैसला आउने या नआउने टुङ्गो थिएन । तर, फैसला भने शुक्रबार साँझ नै आयो ।
रामशाहपथस्थित सर्वोच्च अदालत र गृहमन्त्रालयको दूरी करिव पाँच सय मिटर मात्र छ । सर्वोच्चमा आफ्नो नागरिकता विवाद छिनोफानो हुँदै गर्दा रवि मन्त्रालयमै थिए । उनलाई पनि आजै फैसला होला या नहोला भन्ने हेक्का थिएन । साँझ ५ः३० तिर सर्वोच्चले रविको विरुद्धमा फैसला गर्यो र नेपाली नागरिकताधारी नरहेको फैसला सुनायो ।
बहस के भयो र फैसला के होला ? भन्दै दिनभर मन्त्रालयबाट सञ्चारमाध्यमहरू चहारिरहेका रविलाई सम्भावित फैसलाबारे छनक मिलेको थियो । त्यसैले उनी आज कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी थिएनन् । तर, मन्त्रालय भने छोड्न सकेनन् ।
फैसलापछि उनी साँझ ७ बजे मात्र मन्त्रालयबाट बाहिरिए । बाहिरिने क्रममा उनले आफू अनागरिक भएको भन्दै दुखेसो पोखे । सर्वोच्चको फैसलालाई सम्मान गर्ने बताएका रविले पत्रकारहरूले प्रश्न गर्दा ‘म अनागरिकसँग कुनै प्रश्नको जवाफ छैन’ भन्ने प्रतिक्रिया दिए ।
सर्वोच्चको फैसलासँगै रविको सांसद र गृहमन्त्री पद स्वत खारेज भयो । तर, उनी पद खारेज भएपछि पनि करिव २ घण्टा गृहमन्त्रीकै कुर्सीमा बसेर बिदा भए ।














