Logo
Logo

राष्ट्रपति पदमा राष्ट्रिय सहमति भए राम्रो : डा भट्टराई



गोरखा । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराइले राष्ट्रपति निर्वाचन सर्वसम्मत हुन उपयुक्त हुने बताएका छन् । शनिबार गृहजिल्ला गोरखामा पत्रकारहरुसँग कुराकानी गर्दै उनले राष्ट्रपतिमा प्रमुख शक्तिबीच राष्ट्रिय सहमति हुनुपर्ने बताए ।

फाइल फोटो

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले भने, ‘राष्ट्रिय राजनीतिका अहम् मुद्दामा सहमति गराएर जानु उपयुक्त हुन्छ, राष्ट्रपति जस्तो संस्थालाई चाहिँ धेरैभन्दा धेरै सहमति चाहिन्छ । सर्वसम्मत नहुन पनि सक्छ, तैपनि अधिकतम सहमति हुने तवरले जानु उपयुक्त हुन्छ ।’

उनले कांग्रेससहित एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका शक्तिहरूबीच राष्ट्रिय सहमति गरे अगाडि बढ्नु आवश्यक रहेको बताए । अभिभावकीय भूमिका भएकाले पनि राष्ट्रपति पदमा राष्ट्रिय सहमति भएमा राम्रो भट्टराईको भनाइ छ ।
उनले भने, ‘सकेसम्म सरकार निर्माणलगायतका विषयमा ५ वर्ष राष्टिय सहमति गरेर जाऔँ, नभए कमसेकम देशको अभिभावकका रूपमा परिकल्पना गरिएको राष्टपति सर्वसम्मतिले गरौँ भन्ने बहस चलिरहेको छ । त्यसमा के हुन्छ, अहिलै भन्न सकिने अवस्था छैन ।’

उनले नेपालको राजनीतिमा देखिएको अन्योल र अस्थिरताको संकेतलाई हल गर्नका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताउँदै भने, ‘मैले सुरुदेखि नै शासकीय प्रणाली र निर्वाचन प्रणालीका कारण एक दलको मात्र बहुमत नआउने र स्थिर सरकार नबन्ने खतरा रहन्छ भनेको थिएँ, निर्वाचनपछि त्यही देखियो ।’

प्रतिक्रिया दिनुहोस्