
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेससँगको सम्बन्ध सुधार गर्ने रणनीतिमा देखिएका छन् । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति कायम गरेर कांग्रेससँगको सम्बन्ध सुधार गर्ने रणनीतिमा प्रचण्ड रहेको स्रोतको दावी छ ।
कांग्रेसले धोका दिएको भन्दै पुस १० गते पाँच दलीय गठबन्धन तोडेर एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए । तर कांग्रेसले २६ गते संसदमा सरकारलाइ विश्वासको मत दिएपछि प्रचण्ड पुनः कांग्रेससँग सम्बन्ध सुधार गर्ने मनस्थितीमा पुगेका हुन् ।
सात दलीय गठबन्धनको भागबण्डामा राष्ट्रपति एमालेले पाउने सहमति भएको छ । तर, कांग्रेसले आफुलाई विश्वासको मत दिएपछि प्रचण्ड राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्न चाहान्छन् ।
त्यसैले उनले बारम्बार भन्ने गरेका छन्– ‘कांग्रेप्रति मेरो जिम्मेवारी छ ।’ उनले कांग्रेससँगको औपचारिक–अनौपचारिक छलफललाई पनि निरन्तरता दिएकै छन् । र, भनिरहेका छन्– ‘राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोजौँ ।’
कांग्रेसलाई बाइपास गरेर राष्ट्रिय सहमति हुन नसक्ने माओवादीको लाइन छ । त्यसैले माओवादी केन्द्रले स्थायी समिति बैठकमार्फत राष्ट्रपतिमा सहमति खोज्ने निर्णय नै गरेको छ । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति बनाउनुपर्छ भन्ने पार्टी नीति रहेको प्रवक्ता कृष्ण महराले बताए ।
उनले भने– ‘एमाले वा अर्को उम्मेदवारलाई समर्थन गर्ने भन्ने नभएर सहमति बनाउनुपर्छ भन्ने हाम्रो प्रस्ताव हो । ’ गणतन्त्र कार्यान्वयनपछिका दुवै राष्ट्रपतिले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको माओवादीको आरोप छ ।
पहिलो राष्ट्रपति रामवरण यादवले सेनापति प्रकरणमा दोहोरो शासनको अभ्यास गरेर मन्त्रिपरिषद्को निर्णयलाई नमानेको र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको आदेशमा अनेकौ अनैतिक कदमहरु चालेका छन् ।
त्यसमाथि वर्तमान सत्ता गठबन्धन कायम रहे अढाइ वर्षपछि केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् । सभामुख, प्रधानमन्त्री र राष्ट्रपति एमालेको कब्जामा हुने छ । त्यस्तो अवस्थामा देशमा जे पनि हुनसक्छ भन्ने बुझेका प्रचण्डले कांग्रेससँगको सम्बन्ध सुधारेर एमालेबाहेकबाट राष्ट्रपति बनाउन चाहेको माओवादीका एक नेताले बताए ।
वर्तनमा राष्ट्रपतिको कार्यकाल फागुन २८ गते सकिँदैछ । संवैधानिक व्यवस्थाअनुसार एक महिनाअगावै अर्थात माघ २८ सम्म राष्ट्रपति निर्वाचन गरिसक्नुपर्ने हुन्छ । तर, अहिलेसम्म सत्ता गठबन्धनले राष्ट्रपतिबारे कुनै निर्णय गर्न सकेको छैन ।
यस विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोट–बालुवाटार, बालुवाटार–बालकोटमा पटकपटक छलफल हुने गरेका छन् । तर, कुनै निष्कर्ष निस्किएको छैन् ।
ओलीनिकट एक नेताका अनुसार अध्यक्ष ओलीसँगको छलफलमा प्रचण्डले एमालेका उम्मेदवारको पक्षमा सहमति जुट्ने बताउने गरेका छन् । तर, सार्वजनिक रुपमा भने उनले एमालेका उम्मेदवार नै राष्ट्रपति बन्छन् भन्न सकेका छैनन् ।
ती नेता भन्छन्– ‘प्रधानमन्त्रीज्यूले अध्यक्ष ओलीसँगको छलफलमा एमालेकै पक्षमा सहमति जुट्ने बताउनुहुन्छ । तर, उहाँ बाहिर एमालेकै उम्मेदवार राष्ट्रपयित बन्छन् भन्न सक्नुभएको छैन । यो देखेर हामी अचम्मित भएका छौं ।’














