काठमाडौं । शनिवार दिउँसोबाट डाउन भएको अधिकांश सरकारी वेब साइटहरु सञ्चालनमा आएका छन् ।
नेपाल सरकारका ‘जिओभी डट कम डट एनपी’ सर्भर भएका साइटहरुमा शनिबार दिउँसोबाट अचानक समस्या आएको थियो । ह्याकरहरु अनधिकृत रुपमा सर्भरमा पस्न खोजेपछि सबै सरकारी वेबसाइट डाउन भएको खुलेको छ ।
अध्यगमन विभागको वेबसाइटबाट ह्याकरहरुले अनधिकृत रुपमा सर्भरमा पहुँच गर्न खोज्दा समस्या देखिएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार प्राविधिक टोलीले यसबारे थप अध्ययन गरिरहेको छ ।
‘इमिग्रेसनको पनि समस्या आएको छ । त्यो बाइपास गरेर बाहिरबाट हाम्रो फायरवालमा आक्रमण आएको हो । प्राविधिक साथीहरु यसलाई समाधान गर्न र आवश्यक सुरक्षा रणनीतिमा काम गरिरहनु भएको छ,’ उनले भने, ‘बाहिरबाट अनधिकृत पहुँच बिना हाम्रो सिस्टम यसरी डाउन हुँदैन । हाम्रो रिक्वेस्ट भित्र अनधिकृत पहुँच नभएपछि फायरवालले त्यसलाई रोक्यो,’ पोखरेलले भने ।














