काठमाडौं । व्यापारिक केन्द्र हो काठमाडौंको दरबारमार्ग । तर, दरबारमार्ग क्षेत्रमा काठमाडौं महानगरले पार्किङ हटाएसँगै व्यवसायीमा गिरावट आएको छ ।
डेडिकेटेड पार्किङ लेनमा सवारीसाधान पार्किङ निषेध गरेर महानगरले काठमाडौंको व्यापारिक तथा पर्यटकीय गन्तव्यमाथि नै प्रहार गरेको व्यवसायीले बताएका छन् । उनीहरुले ट्राफिक समस्या नै नभएको क्षेत्रमा महानगरपालिकाले पार्किङ हटाएर मनोमानी गरेको समेत आरोप लगाएका छन् ।

दरबारमार्ग विकास बोर्डका अध्यक्ष सञ्जीव तुलाधरले पार्किङ हटाउने महानगरको निर्णयले व्यवसायमा ५० प्रतिशत गिरावट आएको बताएका छन् । उनले व्यवसाय नै बन्द गरेर सडकमा ओर्लनुपर्ने अवस्था सिर्जना भएको बताए ।
अध्यक्ष तुलाधरले दरबारमार्गमा कुनै ट्राफिक जामको समस्या आफूहरूले कहिल्यै भोग्नु नपरेको उल्लेख गर्दै स्थानीय व्यवसायी र ट्राफिक प्रहरी मिलेर एक लेन पार्किङसहित चुस्त व्यवस्थापन गर्दै आइरहेको अवस्थामा महानगरले मनोमानी पार्किङ निषेध गरेको बताए ।
यस्तै, बोर्डका निवर्तमान अध्यक्ष गोपालसुन्दरलाल कक्षपतिले ७० फिट चौडाइको सडकलाई बोर्ड स्थापनापछि पाँच लेनमा विभाजन गरी ट्राफिक प्रहरीकै संलग्नतामा एक लेन पार्किङका लागि डिजाइन गरिएको बताए । उनले पहिले निःशुल्क पार्किङको व्यवस्था गरेको तर महानगरले स्मार्ट पार्किङका नाममा घण्टाको ८० रुपैयाँ असुल्न थालेको बताउँदै भने, ‘हामीले प्रतिघण्टा ४० रुपैयाँ कायम गर्न धेरै आग्रह गर्दा पनि सुनुवाइ भएन, अहिले त पार्किङ नै हटाइयो ।’
पार्किङ पुनस्र्थापनाका लागि आग्रह गर्न आफूहरूले मेयर बालेन साहलाई पटक–पटक भेट्न खोजेपनि मेयरले समय नदिएको उनको भनाइ छ । व्यवसायीले पार्किङ अविलम्ब पुनर्स्थापनाको माग गर्दै आएका छन् । अन्यथा चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् ।














