
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्टाफ नर्सलाई कम पारिश्रमिक दिने स्वास्थ्य सङ्स्थाको नवीकरण नगर्ने बताएक छन् ।
आज काठमाडौंमा यहाँ नेपाल नर्सिङ सङ्घको ६१औँ वार्षिकोत्सव कार्यक्रममा उनले नर्सको तलब निकै कम भएको सुन्नमा आएको भन्दै बिरामीको सेवामा चौबिसै घण्टा खटिने नर्सको सेवासुविधा वृद्धि गर्नका लागि भूमिका खेल्ने बताए ।
मन्त्री गिरीले श्रम शोषण गर्ने स्वास्थ्य संस्थालाई अनुगमन गरी कारबाही गर्नेसमेत चेतावनीसमेत दिए । मन्त्री गिरीले नर्स मैत्री नीति बनाउनका लागि सक्रिय भूमिका खेल्ने धारणा राखे ।
‘नर्सका समस्या पहिचान गरेर राज्यले न्यायोचित ढङ्गले सम्बोधन नगर्दा उनीहरुमा नैराश्यता उत्पन्न हुन्छ र समाजमा अन्य समस्या देखिन्छ’, उनले भने, ‘नर्सले एउटा लेभल पास गर्नुहुन्छ । मैले सुने आठ हजार दश हजारमा पनि निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था छ । यो निकै चिन्ताको विषय हो । यसरी न्यूनतम तलब भत्ता पनि नदिइ श्रमको शोषण गर्ने कुरा कुनै पनि हालतमा ठीक हुँदैन ।’
मन्त्री गिरीले भने– ‘नर्सलाई कम तलब दिने अस्पताल र निजी स्वास्थ्य संस्थाको राम्रो गरी अनुगमन हुनेछ र आवश्यक कारबाही हुन्छ । यसमा कुनै सम्झौता हुँदैन तथ्य र प्रमाण भेटियो भने नवीकरण नगर्ने र खारेज गर्नेसम्म पनि हुनसक्छ ।’
बिरामीको उपचारमा नर्सको भूमिका महत्वपूर्ण हुने भएकाले नर्सलाई राम्रो सेवा दिइनुपर्ने मन्त्री गिरीको भनाइ रहेको छ । ‘बिरामीको उपचारमा सक्रिय रहने नर्सले मुस्कानसहितको सेवा दिनुपर्छ, बिरामीलाई मुस्कानसहित भूमिका दियो भने आधा रोग आफैँ ठीक हुन्छ पनि भनिन्छ । तपाईंहरुको अनुहारमा हाँसो आवश्यक छ । तपाईंहरु हाँस्दा बिरामीले पनि राहत महसुस हुन्छ ।’
सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहको समन्वयमा विद्यालयमा समेत नर्स राख्नेगरी योजना अघि बढिरहेको भन्दै यसले नर्सका लागि पनि रोजगारीका थप ढोका खुल्ने समेत मन्त्री गिरीको भनाइ रहेको छ ।
‘मैले मन्त्री भएपछि पहिलो निर्णय न्यूनतम स्वास्थ्य सेवा मापदण्ड कार्यान्वयन गर्ने विषयमा हस्ताक्षर गरेको छु । नर्स र बिरामीको कुरा त्यसैमा पर्छ’, उनले भने ।
नेपालका दक्ष नर्सले राम्रो सेवासुविधा पाएर विदेशमा रोजगारी गर्नु सकारात्मक कुरा भएको उल्लेख गरे ।














