
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मुलुकमा सुशासन कायम गर्न राष्ट्रसेवक कर्मचारीले जनताका काम द्रुतगतिमा गर्नुपर्ने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा कार्यालय प्रमुखहरूलाई आज निर्देशन दिँदै सुशासन कायम गर्न भ्रष्टाचारमुक्त बनाउने धारणा राखे ।
मन्त्री मोदीले भ्रष्टाचारमा शून्यसहनशीलता अपनाउने भन्दै कर्मचारीहरूले बिचौलियाको माध्यमबाट काम गरिरहेको गुनासो सुनिए पनि मेरो अवधिमा त्यस्तो सुन्न नपरोस् भनेका छन् ।
मन्त्री मोदीले निर्देशन दिँदै जनताका आशाका केन्द्र रहेको वर्तमान सरकारको नीति तथा कार्यक्रमलाई आधार मानेर काम गर्नुपर्ने बताए ।
उनले सुगममा काम गर्ने कर्मचारीलाई दुर्गम र दुर्गममा काम गर्ने कर्मचारीलाई सुगममा पठाउने भन्दै बरण्डामा बस्ने र घाम तापेर बस्ने कर्मचारीहरूलाई काममा लगाइने धारणा राखे ।
मन्त्री मोदीले कार्यालयको निर्धारित समयमै कर्मचारीहरू हाजिर भई काम गर्नुपर्ने निर्देशनसँगै कार्यालयको शौचालय र सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए ।
मन्त्री मोदीले कर्मचारीहरूलाई भ्रष्टाचारमुक्त हुन र सुशासन कायम राख्न निर्देशन दिँदै कसैको प्रभावमा नपरी सरकारप्रति उत्तरदायी भएर काम गर्न आग्रह गरे ।
मन्त्री मोदीले स्थानीय तहका कर्मचारीको विषयमा व्यापक गुनासो आइरहेको यस सन्दर्भमा अनुसन्धान एवं अध्ययन भइरहेको भन्दै सङ्घीय निजामती ऐन ल्याउन प्रधानमन्त्रीबाट निर्देशन भइसकेको जानकारी दिए ।
मन्त्री मोदीले सङ्घीय निजामती ऐनका सन्दर्भमा पूर्वप्रधानमन्त्रीसँग पनि छलफल भइरहेको उल्लेख गरे ।














