Logo
Logo

शहीदको सपना पूरा गर्न हातेमालो गरौँ : प्रधानमन्त्री


819
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गर्नुपर्ने बताएका छन्। शहीद दिवसका अवसरमा शुभकामना दिँदै प्रचण्डले शहीदले देखाएको बाटोमा शब्दमा मात्र नभई कर्ममा लाग्न आग्रह गरेका हुन्।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध र समुन्नत बनाउन शहीदको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने बताएका छन्।

‘तानाशाही र निरंकुश व्यवस्थाविरूद्ध संघर्षका क्रममा उच्च बलिदानी गर्नुहुने महान् शहीदको बलिदानी भएको दिनलाई हामीले शहीद दिवसका रूपमा स्मरण गर्दै आएका छौँ’, उनको सन्देशमा भनिएको छ, ‘आजको दिन नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने शहीदप्रति विशेष सम्मान व्यक्त गर्ने दिन हो।’

शहीदको बलिदानलाई उच्च सम्मान गर्दै उनीहरूको सपना साकार पार्ने कार्यमा सबै आ–आफ्नो ठाउँबाट निरन्तर प्रयत्नशील रहनु आवश्यक रहेको उनले बताएका छन्।

प्रचण्डले चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ संकल्पित रहेको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्