Logo
Logo

रास्वपालाई गृहमन्त्री दिन प्रधानमन्त्रीको आनाकानी


3.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रालयको जिम्मेवारी दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आनाकानी गरेका छन् । आज (मंगलबार) रास्वपाका सभापति लामिछाने र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भएको छलफलमा रास्वपालाई उक्त जिम्मेवारी दिन नसक्ने बताएका हुन् ।

सभापति रवि लामिछानेले गृहमन्त्रालयकाे जिम्मेवारी आफुलाई दिन भन्दै आइतबार र मंलबार बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग गरेको दुई भेटमा कुनै प्रगति नभएको पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताए ।

गृहमन्त्री आफ्नो दलले प्राप्त गर्ने प्रधानमन्त्रीले निर्णय लिएपछि मात्रै सांसद वा गैरसांसद कसलाई पठाउने पार्टीभित्र छलफल गरिने ढकालले बताए । रास्वपाका प्रतिनिधिको आज नै पुनः प्रधानमन्त्रीसँग छलफल हुनसक्ने उनले बताए ।

नागरिकता सम्बन्धी विवादका कारण रविले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएपछि नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय आफैंसँग राख्न खोजेको छ । तर प्रधानमन्त्री प्रचण्डमाथि सत्ता साझेदार दल नेकपा एमाले र रास्वपाबाट गृह मन्त्रालय पुनः रास्वपालाई नै दिनुपर्ने दबाव छ ।

रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले शुक्रबार उनको सांसद पद खारेज गरेको थियो । त्यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएका थिए । गत आइतबार उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएका थिए ।

प्रधानमन्त्री प्रचण्ड र रास्वपाका सभापति लामिछनेबीच आज (मंगलबार) भएको भेटमा लामिछानेले गृहमन्त्रालय आफ्नो पार्टीले नपाए सरकारबाट बाहिरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्