Logo
Logo

सिंहदरबारबाटै शासनको नेतृत्व गर्छु : प्रधानमन्त्री


6.4k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने बताएका छन् । आज (मंगलबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले सिंहदरबारलाई कार्यसञ्चालनको मुख्य थलोको रूपमा लिएको छु । विगतमा सिंहदरबार बाहिर वा निवासबाट शासन चलाउने काम भएको तीतो अनुभूति तपाई हामी सबैसँग छ । यसपटक हामीले उक्त गल्ती दोहोर्याउनु हुँदैन । विशेष परिस्थितिमा बाहेक सिंहदरबारबाटै काम गर्ने सोचेको छु ।’

प्रधानमन्त्री प्रचण्डले आगाडि भने, ‘प्रधानमन्त्रीले सिंहदरबारबाट काम गर्नु भनेको राज्यका सबै अंगहरूको एकीकृत परिचालनको नेतृत्व गर्नु हो । राज्यका सबै अंगलाई जवाफदेही र उत्तरदायी बनाउनु पनि हो, दण्ड र पुरस्कारको व्यवस्थित प्रणाली स्थापित गर्नु हो ।’

प्रधानमन्त्री प्रचण्डले आफू नयाँ अठोटका साथ काम गर्न आएको बताए । उनले भने, ‘‘तपाईंहरूले आफ्नो कुरा निर्धक्कसाथ राख्न सक्नुहुन्छ । म नयाँ अठोटका साथ काम गर्न आएको छु । सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षा पूरा गर्ने अठोटका साथ आएको छु । सदनमा मलाई प्राप्त विश्वासको मत पनि त्यही जिम्मेवारीका साथ आएको छ । त्यसलाई मैले गम्भीर रूपमा लिएको छु ।’

राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने नराम्रको काम गर्नेलाई दण्ड गर्ने पनि प्रधानमन्त्री प्रचण्डले बताए । उनले भने, ‘कर्मचारीहरूको उर्जा र सम्मानलाई जोड दिनेछु । तपाईहरूले आफ्नो भूमिका गम्भीरपूर्वक खेल्नुस् । मैले पनि अभिभावकीय भूमिका खेल्छु । तपाईहरूले सक्रियतापूर्वक भूमिका खेलेमा राम्रो परिणाम आउँछ । राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिनेछ । तपाईहरू सबै पुरस्कृत हुन प्रतिस्पर्धा गर्नुस् ।’

त्यस्तै राष्ट्रिय गौरवका आयोजनाको निरन्तर अनुगमन र प्रशासनमा उच्चस्तरीय सुधार आवश्यक भएको उनको भनाइ थियो ।साइबार सुरक्षालाई व्यवस्थित गर्न सरकार लागिपरेको पनि उनले बताए ।

उनले भने, ‘साइबर सुरक्षा कसरी गर्ने, एकीकृत डाटा प्रणाली कसरी व्यवस्थित गर्ने, सूचना प्रणालीलाई कसरी एकीकृत र प्रभावकारी बनाउने भन्नेमा हामी छौँ, सर्भर डाउन भएको घटनाबाट पनि हामीले शिक्षा लिन सक्नुपर्छ । त्यसका लागि नीतिगत र व्यवथापकीय क्षेत्रमा सुधार आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्