काठमाडौं । प्रतिनिधिसभा सदस्य बन्नलाई आवश्यक उमेर २५ वर्षबाट घटाएर १८ वा २० वर्ष बनाउनुपर्ने पूर्वकानुनमन्त्री माधवप्रसाद पौडेलले बताएका छन् ।
राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा पौडेलले यस्तो बताएका हुन् । उनले निर्वाचनमा उम्मेदवार बन्न पाउने उमेर सीमा घटाउनुपर्ने बताए ।

कानुन आयोगका पूर्वअध्यक्षसमेत रहेका उनले भने, ‘सांसद उम्मेदवार बन्ने उमेर घटाउनुप¥यो । उम्मेदवारको उमेर २५ वर्ष बनाउने धेरै पुरानो मान्यता हो ।’
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासमेत सहभागी रहेको समितिको बैठकमा बेलायतमा बेबी एमपीको अवधारणा आइसकेको बताउँदै उनले स्थानीय तह प्रमुखको उम्मेदवार बन्नका लागि २० वर्ष भए पुग्ने तर सांसद बन्न किन २५ वर्ष चाहियो भन्दै प्रश्न गरेका थिए ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ मा उम्मेदवारको योग्यताको व्यवस्था गरिएको छ । जसमा उम्मेदवार बन्न पाउने योग्यतामा २५ वर्ष उमेर पूरा भएको, मतदाता नामावलीमा नाम समावेश भएको, नेपालको नागरिक हुनुपर्ने लगायत छन् ।














