काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले ऋणमा रहेका कुखुरा पालक किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार संसदमा बोल्दै कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले कुखुरा पालक किसानका समस्याप्रति सरकार उदासीन रहेको बताउँदै भने, ‘सयौँको संख्यामा साना किसान कृषि मन्त्रालय धाइरहेका छन् । उनीहरू त्यहाँ पुग्छन्, रुन्छन्, कराउँछन् । सरकार दिन्न भन्दैन, दिन्छु भन्छ तर दिँदैन । सरकार झुलाउँछ ।’

किसानहरूले बैंकबाट ऋण लिएर कुखुरा फार्महरू चलाएको बताउँदै बर्डफ्ल्युको जोखिम न्यूनीकरण गर्नका लागि सरकारकै निर्णयबाट उनीहरुको कुखुरा फार्म नष्ट गरिएको बताए ।
उनले भने, ‘अनि अप्रिय निर्णय गरेपछि आँसु बगाउँदै सहानुभूति देखाउँदै छानबिन गर्न समिति बनाउनुपर्ने हो कि ? त्यस्तो निर्णय नहोस् भन्नका लागि ऋणले थिचिएका किसानलाई जोगाउनका लागि रकम दिने हो ?’














