
काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभाका सांसदहरुलाई अभिमुखीकरण तालिम दिँदैछ । आज भोलि सञ्चालन हुने अभिमुखिकरण कार्यक्रममा संसदीय अभ्यास, प्रणली बजेट निर्माण कानून निर्माण जस्ता कुरा सिकाइने सचिवालयका सचिव डाक्टर रोजनाथ पाण्डेले जानकारी दिए ।
सचिवालयको आयोजनाका हुन लागेको दुई दिने कार्यक्रम विहान ११ बजेदेखि ४ बजेसम्म संघीय संसद भवन नयाँ बानेश्वरको लोत्से हलमा हुनेछ। अभिमुखि कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुलाई बोलाइएको सचिव पाण्डेले जानकारी दिए।
पाण्डेका अनुसार, डाक्टर युवराज खतिवडाले बजेट निर्माण, योजना र त्यसमा सांसदहरुको भूमिका बारे सिकाउनेछन्। यसै गरी नीति प्रतिष्ठाका अध्यक्ष डाक्टर विष्णुराज उप्रेतिले सार्वजनिक नीतिको बारेमा सांसदहरुलाई अभिमुखीकरण तालिम दिनेछन् ।
यस्तै डाक्टर खिमलाल देवकोटाले समितिमा सांसदहरुको भूमिका, कानून आयोगका पूर्व अध्यक्ष माधव पौडेलले कानून निर्माणका बारेमा सांसदहरुलाई सिकाउनेछन् ।
पूर्व उपसभामुख पुष्पा भुसाललले शून्य समयको बारेमा सांसदहरुलाई सिकाउने कार्यक्रम रहेको छ। यस्तै संविधान सभाका अध्यक्ष सुवास नेम्बाङले प्रभावकारी संसद अभ्यासका बारेमा सांसदहरुलाई अवगत गराउनेछन् ।
यस्तै सचिवालयका सचिव डाक्टर रोजनाथ पाण्डेले सचिवालयको सेवा प्रवाहको बारेमा सांसदहरुलाई प्रष्ट पार्नेछन् । प्रतिनिधिसभामा अधिकांश नयाँ अनुहार आएकोले सचिवालयले सांसदहरुलाई अभिमुखीकरण तालिम दिन लागेको हो।














