Logo
Logo

होटल व्यवसायका नीतिगत समस्या सरकारले समाधान गर्छ : राज्यमन्त्री सिर्पाली



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले होटल व्यवसायमा देखिएका नीतिगत समस्या सरकारले समाधान गर्ने बताएकी छन् ।

नेपाली होटल व्यवसायी सङ्घले आज होटल व्यवसायी महासङ्घका नवनिर्वाचित कार्यसमितिलाई ‘बधाइ तथा सम्मान’ दिन आयोजित कार्यक्रममा उनले होटल व्यवसायका क्रममा देखिएका नीतिगत समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताइन् । ‘होटल व्यवसायलाई व्यवस्थित बनाउन आवश्यक पर्ने कानुनी प्रक्रिया संशोधन गर्न मन्त्रालय तयार छ, व्यवसायी जिम्मेवार र उत्तरदायी भएर काम गर्नुहोस्’, उनले भनिन् । इमान्दार र जवाफदेही भएर काम गरे परीणाम निकाल्न सकिने उनको भनाइ थियो ।

राज्यमन्त्री सिर्पालीले होटल व्यवसायको क्रममा आवश्यक पर्ने तालिम दिनतर्फ सरकार लाग्ने बताउनुभयो । पर्यटन प्रवर्द्धनका लागि होटल क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।

होटल व्यवसायी महासङ्घ नेपालका अध्यक्ष दिनेश चुकेले कोरोना महामारीबाट थला परेको नेपालको होटल क्षेत्रलाई पुनःउत्थानका लागि राज्यले विशेष भूमिका खेल्नुपर्ने बताइन् ।

टोखा नगरपालिका–९ का वडाअध्यक्ष रामभक्त घिमिरेले होटल व्यवसायलाई मर्यादित र कानूनअनुसार सञ्चालन गर्न आग्रह गरे । उनले सबै होटल सङ्घका समस्या साझा भएकाले समस्या समाधानका लागि एकजुट भएर अगाडि बढ्न सुझाव दिए ।

नेपाली होटल व्यवसायी सङ्घका अध्यक्ष गणेश ढकालले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रभित्र पर्ने होटल क्षेत्रलाई राज्यले महत्व दिन नसकेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्