Logo
Logo

राज्यका सबै अंगमा समावेशी प्रतिनिधित्व भएको छ : प्रधानमन्त्री


693
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताएका छन् ।

शनिबार आदिबासी जनजाति आयोगको वार्षिकोत्सव तथा आदिबासी जनजाति अध्ययन पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

उनले भने– ‘हामीले संविधानसभाबाट नयाँ संविधान बनाउने क्रममा विभिन्न संवैधानिक आयोगहरुका बारेमा गम्भीर रुपमा छलफल गरेका थियौँ । गम्भीर छलफलपछि हामी आदिवासी, महिला, दलित, मुस्लिम लगायतका आयोग बनाउने निष्कर्षमा पुगेका हौँ । यो सानो संघर्ष र बलिदानीबाट प्राप्त भएको होइन ।’ प्रधानमन्त्री प्रचण्डले राज्यका सबै अंगलाई समावेशी र पूर्ण समानुपातिक बनाउन आफ्नो प्रयास जारी रहेको बताए ।

उनले भने– ‘राज्यका सबै अंगमा समावेशी प्रतिनिधित्व भएको छ । यद्यपि, यो पूर्ण छैन । तर, यो निकै महत्वपूर्ण कुरा हो । यसलाई अझै समावेशी र पूर्ण समानुपातिक बनाउने छलफल चलि नै रहेको छ । त्यसका लागि हाम्रो प्रयास जारी रहनेछ ।’

उनले मुलुकले महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश, महिला सभामुख पाउनु देशका लागि गर्वको विषय भएको बताए ।
‘महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश, महिला सभामुख हुनुमा मलाई गर्व छ । यो अधिकार हाम्रै संघर्षको परिणाम हो । एकीकृत र केन्द्रिकृत राज्यले अपमान र विभेदमा पारिएका समुदायको पक्षमा लड्दै आएको छु । भोलि पनि लड्नेछु । कुन पार्टीबाट को आए भन्ने कुरा मेरा लागि खास अर्थ राख्दैन । जुन पार्टीबाट आए पनि हाम्रो मुद्दाका कारण आउनुभएको छ, हाम्रो आन्दोलनका कारण आउनुभएको छ’ उनले भने ।

‘म आन्दोलनको नेतृत्व गर्दा सुरुदेखि नै आदिवासी जनजाति समुदायसँग घनिष्ठ सम्बन्ध स्थापित गर्दै आएको छु’ उनले भने– ‘चाहे रोल्पा, रुकुम भन्नुस्, चाहे भोजपुर, खोटाङ भन्नुस्, चाहे गोरखा, लम्जुङ, तनहुँ, मनाङ भन्नुस्, चाहे थारुका आधार क्षेत्र बाँके, बर्दिया, कैलाली, कञ्चनपुर भन्नुस्, चाहे मधेश भन्नुस्, म उत्पीडित वर्ग र समुदायसँग एकाकार भएर नै आन्दोलनको नेतृत्व गरेको हुँ ।’

प्रतिक्रिया दिनुहोस्