Logo
Logo

हेडमास्टरको किर्तेयात्रा : नक्कली ‘सर्टिफिकेट’ पेश गरेर २५ वर्ष पढाए, नपढी नामको अघि डा. लेखाए


12k
Shares

काठमाडौं । शिक्षाको उज्यालो देखाउने गुरूलाई सबैले पुजनीय मान्ने गर्छन् । ती गुरूहरू जसले विद्यार्थीलाई भविष्यको बाटो र उज्यालो देखाइदिन्छन् । तर, अपवादमा यस्ता गुरू पनि हुन्छन् जसको आधार नै नक्कली हुन्छ । र, जसले हजारौं विद्यार्थीको उज्यालो भविष्यमाथि खेलबाड गरिरहेका हुन्छन् ।

अपवाद मध्येका एक ‘दुर्लभ’ गुरू हुन् जिल्ला चितवन, कालिका नगरपालिका वडा नं. ५ स्थित श्री भिमोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद कँडेल । जसले प्लस-टुदेखि स्नातकसम्मको किर्ते शैक्षिक प्रमाणपत्र लिए । अध्ययन पूरा नगरी नामको अगाडि डा. लेखेर प्रचार गराए ।

आफूलाई नमुना ‘गुरू’को रूपमा प्रचार गराएका कँडेल जसले भिमोदय नमुना माध्यमिक विद्यालयमा २०५५ माघ १० गते अस्थायी नियुक्ति लिए । २०६३ भदौ २५ गते स्थायी नियुक्ति लिए । त्यसयता उनले निन्तर उक्त माविमा पढाउँदै आएका छन् । तर उनै कँडेलले किर्ते शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर खुलासा भने करिब २५ वर्षपछि मात्रै भएको छ ।

गत १८ माघ २०७९ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले किर्ते शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर नियुक्ति लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेपछि उनी नक्कली गुरू भएको खुलासा भएको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार कडेल (नि.मा.वि. स्थायी शिक्षक) आइ.एस.सी र बिए तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी भिमोदय माध्यमिक विद्यालय चितवनमा शिक्षक पदमा नियुक्त भएका हुन् ।

अख्तियारको अनुसन्धानमा भनिएको छ, ‘श्री भिमोदय नमुना माध्यमिक विद्यालय, कालिका चितवनका प्रधानाध्यापक हरिप्रसाद कँडेलले नि.मा.वि. तृतीय तहमा भिमोदय माध्यमिक विद्यालय, चितवनमा स्थायी नियुक्त हुँदा वीरेन्द्र क्याम्पस चितवनबाट आइ.एस.सी. उत्तीर्ण गरेको भनी उल्लेख गरी त्रिभुवन विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र (विज्ञान) उत्तीर्ण भएको तथा छत्रपति साहुजी महाराज विश्वविद्यालय, कानपुर, भारतबाट स्नातक तह (बिए) उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी भिमोदय माध्यमिक विद्यालय चितवनमा शिक्षक पदमा कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको ।’

कँडेलको किर्ते यात्रा
कडेल शिक्षक मात्रै होइनन् शिक्षकहरूको नेता पनि हुन् । नेपाल शिक्षक संघ चितवनको अध्यक्षसमेत रहेका कँडेलले लामो समयदेखि नामको अघि डा. लेखाउँदै आएका थिए । अख्तियारका अनुसार उनले प्रस्तुत गरेको प्रविणता प्रमाणपत्र तह (विज्ञान)को शैक्षिक प्रमाणपत्रको अभिलेख त्रिभुवन विश्वविद्यालयमा उपलब्ध छैन । अर्थात् उनको नक्कली शैक्षिक प्रमाणपत्र हो ।

अख्यिारका अनुसार कँडेलले वीरेन्द्र बहुमुखी क्याम्पस, चितवनबाट २०५१ सालमा प्रविणता प्रमाणपत्र तह (विज्ञान) प्रथम वर्ष र २०५२ सालमा द्वितीय वर्षको परीक्षामा सम्मिलित भएका थिए । तर उनी वीरेन्द्र बहुमुखी क्याम्पस, चितवनबाटको रेकर्ड अनुसार अनुतिर्ण भएको देखिन्छ ।

कँडेलले सोही समयमा स्टेट वोर्ड अफ तमिलनाडुम प्लस–टु तह अध्ययन गरेर उक्त तहको शैक्षिक प्रमाणपत्र बनाएका छन । आयोगका प्रवक्ता भन्छन्, ‘सैद्धान्तिक र प्रयोगात्मक परीक्षा दिनुपर्ने प्लस–टु तहको विज्ञान विषयलाई एकै समयमा दुई फरक मुलुकका विद्यालयमा उपस्थित भई अध्ययन गर्न सम्भव देखिँदैन ।’

कँडेलले सिंघानिया विश्वविद्यालय भारतबाट पि.एच.डी. गरिरहेका दाबी गरेका छन् । तर सिंघानिया विश्वविद्यालयको रेकर्डमा उनले पिएचडी अध्ययन पूरा गरेको रेकर्ड छैन । तर उनले नामको अगाडि डा. लेख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्