काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफूले काठमाडौँका सडकमा रहेका समस्या सबैसँग समन्वय गरेर समाधान गर्न सुरु गरेको बताएका छन् । उनले तीन सातामा झण्डै ९० प्रतिशत समस्या सुधार भएको दाबी गरे ।

मन्त्रालयको जिम्मेवारी सम्हालेको केही समयमा नै उनले सडकमा संरचना रहेका निकायका प्रमुखसँग बैठक गरेर मर्मत र सुधारका लागि लागेका थिए । यो अवधिमा समग्र सडकमा ६० प्रतिशत सुधार देखिए पनि मन्त्रालयको कार्यक्षेत्रमा रहेका सडकमा ९० प्रतिशतमा सुधार रहेको बताए ।
अहिले सरकारको देश र समाजप्रतिको कार्यभार सामाजिक र आर्थिक रुपान्तरण गरेको उनले बताए । छ दशकभन्दा बढी समय विभिन्न किसिमका सङ्घर्षको क्रममा हजारौँ शहीदले बलिदानी दिएको र बेपत्ता योद्धाको समर्पण रहेको उनले बताए ।
लाखौँ जनताको संर्घषपछि राजनीति परिवर्तन भएकाले अब नागरिकले महसुस गर्ने गरी विकास गर्न लागिने उनले बताए ।
आर्थिक विकास नयाँ ढङ्गबाट हुन जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । जहाँ विकास भएको छ त्यहाँ विकास नै विकास हुने र केही सीमित ठाउँमा मात्रै विकास केन्द्रित गर्नेभन्दा सबै भागमा विकास पुग्ने गरी लाग्नुपर्ने उनले बताए ।
उनले भने, ‘विपन्न वर्ग पनि लाभन्वित हुने गरी विकासका कार्यक्रम बनाउन आवश्यक छ र वातावरणलाई विकासको अङ्ग बनाएर अघि बढ्नुपर्छ ।’
राजनीतिक परिवर्तन पछाडि पनि समाजको आवश्यकता र नागरिकको अपेक्षाअनुसार विकासको फड्को मार्न नसकिएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । यो अवधिमा धेरैथोरै काम गरिए पनि नागरिकलाई सन्तुष्ट बनाउन नसकिएको उउनले बताए ।
उनल भने, ‘राजनीतिक परिवर्तनका कारण मेरो जीवन फेरियो भनी जनताले महसुस गर्ने गरी गर्नुपर्छ ।’
भौतिक पूर्वाधारले फड्को नमारेसम्म समग्र विकासले फड्को नमार्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए ।
नेपालमा विद्युत्, पर्यटन, जडीबुटी वा जनशक्ति धेरै कुरा एकसाथ सम्भावना भएकाले ठीक रुपमा प्रयोग गरेर विकासको फड्को मार्न मन्त्रालयको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।














