
काठमाडौं । नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको आज सुनवाई हुने भएको छ ।
अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरुद्ध सो रिट निवेदन दिए पछि आज सुनवाई हुन लागेको हो । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी हुन् ।
न्यायधिस मल्लको आदेशअनुसार अधिवक्ता पोखरेलेको रिट निवेदन दर्ता भएको हो । आज २५ माघमा पहिलो पेशी तोकिएको छ । यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले सो निवेदन दरपिठ गरेका थिए ।
रिटमा नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर विपक्षी दलको हैसियत गुमाएकाले देउवालाई विपक्षी दलको नेता बनाउने निर्णय खारेज गर्न माग गरिएको छ ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिएका कारण देउवालाई संवैधानिक परिषदको बैठकमा उपस्थित हुन समेत रोक लगाउन माग गर्दै विपक्षी दलको कुनै पनि भूमिका नदिन रिटमा भनिएको छ । यस्तै संसद सचिवालयबाट कुनै पनि सेवा सुविधा नदिन समेत निवेदकको माग छ ।














