
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो ३ बजे बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाइएको हो ।
बैठकमा आगामी १० वैशाखमा हुने उपनिर्वाचन, पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, उच्चस्तरीय राजनीति संयन्त्रमा भएको छलफलबारेमा ब्रिफिङ र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
यसअघि आइतबार बिहान बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरिएको थियो ।
संयन्त्रको बैठक लगत्तै पार्टीका उपसभापति, महामन्त्रीसँग लामिछानेले सरकारमा पुन सहभागी हुने, चितवनमा हुने उपनिर्वाचनमा उम्मेदवार बन्नेबारे छलफल गरेका थिए ।
मंसिर ४ मा भएको निर्वाचनमा लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । तर नागरिकतासम्बन्धी मुद्दामा अदालतको फैसलाबाट उनी पदमुक्त भएपछि आयोगले रिक्त रहेको पदमा उपनिर्वाचनको मिति तोकेको हो ।











