
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै पार्टी एकताको अर्को प्रक्रिया अघि बढ्ने बताएका छन् ।
२८ औं जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकताका लागि फरक फरक नेतृत्वसँग छलफल गरिरहेको बताएका हुन् ।
‘म आफैंले फरक फरक नेतृत्वसँग लगातार छलफल गरिरहेको छु । मलाई विश्वास छ छिट्टै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि आउने छ । जसले आम नेता कार्यकर्तालाई उत्साहित गराउनेछ,’ उनले भने ।
पार्टी पुनः निर्माण गर्ने, आन्दोलनलाई अघि बढाउने र जनताको भावना अनुसार काम गर्न जिम्मेवारी थपिएको उनको भनाई छ ।
आफूसँग छलफलमा रहेका सबैले आ–आफ्नो ढंगले एकता प्रक्रियालाई अघि बढाउने संकल्प पनि गरेको उनले बताए ।
साथै, उनले जनयुद्ध दिवस माओवादीको मात्र नभई राष्ट्रकै सम्पत्ति भएको टिप्पणी गरे । देशलाई सुशासनको बाटोमा लाने जिम्मेवारी मिलेको भन्दै उनले असफल हुने छुट आफूलाई नहुने प्रधानमन्त्रीले बताए ।











