
काठमाडौं । नेपाल टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’को अनुसन्धान सकिएको छ । कीर्तिपुर मैदानमा गत पुस ९ देखि २७ गतेसम्म भएको खेलमा ‘स्पट फिक्सिङ’ भएको सार्वजनिक भएको थियो ।
काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक सदस्यलाई फिक्सिङको प्रस्ताव आएको खुलासा गरेका थिए ।
गृह मन्त्रालयले ‘फिक्सिङ’ र स्पट फिक्सिङको अनुसन्धान गर्न निर्देशन दिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छानविन गरेको थियो ।
छानविन प्रतिवेदनको फाइल मंगलबारसम्म सरकारी वकिललाई बुझाउने तयारी गरिएको सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले बताए । उनका अनुसार ११ जनालाई प्रतिवादी बनाइएकाे छ । तीमध्ये तीन जनामात्रै पक्राउ परेको र अन्य फरार रहेको सुवेदीले बताए ।
‘अनुसन्धान सकिएको छ । मंगलबारसम्ममा सरकारी वकिललाई फाइल बुझाउने तयारी छ । नेपाली पाँच र विदेशी ६ जना गरेर ११ जनाको संलग्नता पुष्टि भएको छ,’ उनले भने । विदेशी खेलाडी भने लिग सकिएलगत्तै स्वदेश फर्किसकेका छन् ।
अनुसन्धानकै क्रममा स्पट फिक्सिङमा सहभागी भएको पाइएपछि युवा अलराउन्डर महोम्मद आदिल अन्सारी, पूर्वक्रिकेटर मेहबुब आलम र नितेश गुप्ता पक्राउ परिसकेका छन् ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार मेहबुबले बाहिर बसेर स्पट फिक्सिङको प्रस्ताव गरेका थिए । आदिलले सो प्रस्ताव स्वीकार गरेका थिए । उनले लिगको एक खेलमा बलिङ गर्ने क्रममा स्पट फिक्सिङको योजनाअनुसार ‘नो बल’ फालेका थिए ।
प्रतियोगिताकै दौरान राष्ट्रिय टोलीका सदस्य आरिफ शेखलाई पनि स्पट फिक्सिङको प्रस्ताव आएको खुलेको छ । तर, उनले सो प्रस्ताव अस्वीकार गरेको खुलेको छ । सीआईबीको अनुसन्धानमा क्रममा प्रतियोगिता चलिरहेकै बेला आदिलको खातामा चार लाख रुपैयाँ ‘डिपोजिट’ भएको देखिएको छ ।
यसबाहेक आदिलको ‘कनेक्सन’ जतिन अलुवालियासँग देखिएको थियो । जतिन क्यानले व्यावसायिक तथा रणनीतिक साझेदार बनाएको सेभेन थ्री स्पोर्ट्स कम्पनीका मालिक हुन् । उनी प्रतियोगिता चलिरहेकै बेला भारत भागेका थिए ।
अन्य प्रतिवादीमा केही क्यारेवियन खेलाडी, सेभेन थ्री स्पोर्ट्स कम्पनीका मालिक जतिन अलुवालियालगायत छन् ।














