
काठमाडौं । नेपाल–भारतबीच रक्सौल–काठमाडौं रेल परियोजनालाई अघि बढाउन आवश्यक प्रक्रिया दु्रतरुपमा अगाडि बढाउने सहमति भएको छ ।
सोमबार काठमाडौं आइपुगेका भारतीय विदेशसचिव विनयमोहन क्वात्रा र परराष्ट्र सचिव भरतराज पौडलबीच भएको द्धिपक्षीय वार्तामा प्रस्तावित रक्सौल–काठमाडौं रेल परियोजनालाई अघि बढाउन आवश्यक पर्ने प्रक्रियागत कार्यलाई दु्रतरुपमा अगाडि बढाउने सहमति भएको हो ।
त्यस्तै रेलमार्ग कनेक्टिभिटीको सम्बन्धमा दुवै पक्षले जयनगर–कुर्था–बिजलपुर–बर्दिबास र जोगबनी–विराटनगर रेल परियोजनाका बाँकी खण्डको निर्माण चाँडै सम्पन्न गरी सञ्चालनमा ल्याउने सहमति भएको भारतीय दूतावासले जनाएको छ ।
बैठकमा दुबै पक्षबाट गत वर्ष ऊर्जा सहकार्यमा भएको प्रगतिको समीक्षा गरिएको थियो । जसमा नेपाल अहिले ४५२.६ मेगावाट विद्युत भारततर्फ निर्यात गर्न सक्षम भएको छ । यसले भारतलाई विजुली प्रदान गरेको छ भने नेपालमा थप राजस्व स्रोतको सिर्जना गरेको छ ।
परराष्ट्रसचिव पौड्यालले दीर्घकालीन रुपमा भारततर्फ विद्युत निर्यातका लागि मार्गप्रशस्त गर्न समकक्षी क्वात्रासँग आग्रह गरे ।
त्यसैगरि भारत र नेपालबीचको उर्जा व्यापारलाई थप सुदृढ बनाउन विनिमय बजारका सबै उत्पादनलाई उपयोग गर्न पनि उनले आग्रह गरेका छन् ।











