
काठमाडौं । पप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् ।
मंगलबार सिंहदरबारस्थित मन्त्रालय पुगेर विदेश सचिव कवात्राले मन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् । भेटमा उनीहरुबीच नेपालको रेल्वे, आर्थिक समृद्धि, नेपाल–भारतबीच भएका सन्धीसम्झौता तथा भारतीय पक्षले लगानी गरेका आयोजनाका विषयमा कुराकानी भएको थियो ।
क्वात्राले भारतीय कम्पनीले सञ्चालन गरिरहेको जयनगर–कुर्था रेल सञ्चालनको म्याद नवीकरणको विषयमा राखेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । त्यस्तै रक्सौल–काठमाडौं रेलवे निर्माण सम्बन्धमा पनि प्रारम्भिक छलफल भएको छ ।











