काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले सरकारले नागरिकता विधेयक रोके सडक र सदनबाट संघर्ष सुरु गर्ने चेतावनी दिएका छन् ।

आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले सो चेतावनी दिएका हुन् । उनले आवाजविहीनको आवाज कसले सुनिदिने ? भन्दै प्रश्न पनि गरे । उनले जन्मसिद्ध नागरिकका सन्तानहरु नागरिकता नपाएर रुँदै आएको र संसद् न्यायको मन्दिर भएको उनीहरुलाई न्याय दिनुपर्ने बताए ।
उनले भने, ‘यो न्यायको मन्दिर हो । आवाजविहीनको आवाज कसले सुनिदिने ? जन्मसिद्ध नागरिकको सन्तानका आवाज कसले सुनिदिने ? रुँदै आउँछन् उनीहरु। उनीहरुको लागि न्याय दिने आज कोही छैन ।’
बाबु र आमा नेपाली नागरिक हुँदाँ हुँदै पनि उनीहरुले नागरिकता नपाएको भन्दै उनले भने– ‘जन्मसिद्ध नागरिकका सन्तानको के गल्ती छ ? बाबु र आमा नेपाली नागरिक हुँदा हुँदै पनि आज नागरिकताबिना भड्किरहेका छन् । म यो सरकारलाई चेतावनी दिन चाहन्छु, अब कुनै खेलले नागरिकता विधेयक रोक्ने, ढिलो गर्ने प्रयास भयो भने जनता समाजवादी पार्टी सडक र सदनबाट संघर्ष गर्छ ।’
सांसद यादवले संविधान जारी भएदेखि नै जन्मसिद्ध नागरिकका सन्तानहरुलाई नागरिकताविहीन अवस्थामा राख्नु बिडम्वनापूर्ण भएको बताए ।














